आफूलाई नै परेजस्तो भएपछि म गीत लेख्छु : गायक कुमार भण्डारी



‘पासाङ ल्हामु रोड…’, ‘नमेटिने प्रिती जोडेर…’ लगायत थुप्रै गीतका गायक एवं सर्जक हुन् कुमार भण्डारी । मार्मिक शब्द र मिठास लय हाल्न सिपालु भण्डारी काँठे लोकदोहोरी क्षेत्रका चर्चित गायकमध्येका एक हुन् । लामो समयदेखि गीत, संगीत क्षेत्रमा लागिरहेका गायक भण्डारीले केही समयअघि मात्रै ‘घरमा माहुरी गेटमा फूलको बोट’ बजारमा पठाका छन् । माघ अन्तिममा लोकदोहोरी र आगामी वैशाखमा लोकपप गीत ल्याउने तयारीमा रहेका ख्यातीप्राप्त गायक कुमार भण्डारीसँग साझा पथका लागि भरत तामाङले गरेको कुराकानी ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समय यही गीत संगीतमै दौडिरहेको छु ।

तपाईंका गीत लोकप्रिय रहीरहे पनि तपाईं चाहिँ ओझेल परेजस्तो दर्शक/स्रोताले महसुस गरिरहेका छन्, यसको कारण ?
म ओझेलमा परेको भन्न मिल्दैन । किनकि मैले वर्षमा एउटा, दुइटा गीतमा कोहीमा लय, कोहीमा शब्द र स्वर दिइरहेको छु । मैले गीत दिँदै नदिएको भए ओझेलमा परेको भन्न मिल्यो । त्यसकारण दर्शकमाझ निरास हुनपर्छ जस्तो लाग्दैन मलाई ।

तपाईंले गाउनु भएको पासाङ ल्हामु भाग २ को प्रतिक्रिया कस्तो रह्यो ?
पासाङ ल्हामु भाग २ भन्नासाथ पासाङ ल्हामु १ लाई पनि सम्झनु पर्छ । जुन आफैंमा चर्चामा रहेको गीत हो । पछिल्लो चरणमा पासाङ ल्हामु भाग २ निकाल्न एरेन्जको चरणमा पुग्दा मदन थापा भाइ दुवईबाट नेपाल आउनु भयो । ‘पासाङ ल्हामु भाग १ यत्तिकै राम्रो दाइ । भाग २ चाहिँ दाजुभाइ संयुक्तमा गर्न पाए हुन्थ्यो,’ भन्ने उहाँको धारणा भयो । मैले पनि ठीक छ नि भनें । दाजुभाइ मिलेर गरौं भन्ने सोच बनाएर दुईजनाले यो गीतको एरेन्ज गरेर म्युजिक भिडियो बनाई अहिले बजारमा पठाएका छौं ।

पासाङ ल्हामु भाग १ कस्तो रहेको थियो एकपटक स्मरण गराइदिनुस् न ?
पासाङ ल्हामु भाग १ मेरो तेस्रो एल्बम पनि हो । पहिलो नमेटीने प्रिती जोडेर, दोस्रो खोलीको बगर बनाएको थिएँ । २०७० पासाङ ल्हामु भाग १ मा बनाएँ । सायद त्यो बेला अडियोको जमाना गइसकेको थियो । त्यसकारण म अलि पछि परेको हुँ । नुवाकोट केन्द्रित विषयवस्तु भए पनि त्यो गीत अन्य जिल्लामा पनि चल्न गयो । त्यो गीत चलेकोमा मलाई गर्व लाग्छ । सोच त चल्ला भनेर बनाएको त होइन । आज नचले भोलि चल्ला, भोलि नचले पर्सि चल्ला भनेर गीत निकाल्दै गएको थिएँ । पासाङ ल्हामुले चाहिँ मलाई चिनाउन सफल भयो ।

पासाङ ल्हामु भाग १ ऐतिहासिक धार्मिक क्षेत्र दुप्चेश्वरमा केन्द्रित थियो भने, भाग २ अलि बढी मायाप्रेममा बाँधिएको छ भन्न मिल्छ ?
पासाङ ल्हामु भाग १ मा पनि मायापिरतीकै कुराहरु बढी खेलाको छु । ‘तादी खोला ठाउँ ठाउँमा भंगालो, कति न्यानो मायाको अंगालो’, ‘दुप्चेश्वरको पाउमा बस रोकियो, जाईको माला धूप बत्ती बोकियो’ भनेर शब्दहरु खेलाको छु । पासाङ ल्हामु भाग २ मा पनि मदन भाइले शब्द लेख्नु भएको छ । मैले लय बनाएको छु । दाजुभाइको डोयट सङ भनेर निकालेको छु । यसमा पनि ‘ढिकुरेको पुलैमा पर्खौंला, दुप्चेश्वरको दर्शन गरी फर्कौंला’, ‘शिखरबेंसी दुप्चेथान, मनको इच्छा पुर्‍याइदेउ भगवान्’ जस्ता धेरै मीठा मीठा शब्दहरु भाइले लेख्नु भएको छ ।

काँठे लोकदोहोरी क्षेत्रको बजारलाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
मान्छे आज एउटा गीत निकाले भने फलानोलाई च्यालेन्ज गरेर निकालेँ । ढिस्कानोलाई च्यालेन्ज गरेर निकाले भन्ने बजारमा हल्ला गर्छन् । एक महिनामा १० वटा गीत रेकर्ड गर्छन् । मै ठूलो, मै राजा भनेर हिँड्छन् हिँड्नलाई । तर मलाई त्यस्तो मन पर्दैन । बरु वर्षमा दुइटा गीत गाउँछु । तर राम्रो गीत गाउँछु भन्ने मेरो सोच । किनभने लय आफैंले बनाउँछु । १८/२० वटा लय कोर्दा बल्ला दुइटा जत्ति राम्रो भयो भने त्यो गीत म आफू गाउँछु । कसैले बनाइदे भन्नुभयो भने उहाँहरुलाई पनि मैले बनाएर दिने गरेको छु । कसैलाई शब्द चाहियो भनेमा पनि एकदमै मेहनत गरेर दिन्छू । किनकि मेरो मन खुकुलो छ । माया पनि दिने भएको कारणले म अली कंकाली भएको हुँ ।

पछिल्लो समय तपाईंसँग जोडिएर आएको विवादलाई के भन्नुहुन्छ ?
म कसैलाई फूल दिने हो । काँडा दिन्न । फूल दिँदाखेरी उहाँहरुले काँडाले घोत्छन् त्यसमा कसको दोष भन्नु । कसैलाई फूल दिएको थिएँ उहाँहरुले काँडाले घोच्नु भो । केही फरक पर्दैन । सांगीतिक फिल्डमा निरन्तर लागिरहन्छु । भोलिका दिनमा उहाँहरुका हिजो बजारमा छ्यापछ्याप्ती भएका गीत चर्चामा आउला नआउला । बजारमा आउने गीतहरु दर्शकले चुन्ने कुरा हुन् । विवादमा आएको भनेको गनगन मनमन भन्ने गीत छ हाम्रो संगम थापाजीको । त्यसमा एउटा मैले शब्द लेखेको थिएँ । कि कटाइदेउ थानकोटको डाँडो कि त ल्याइदेउ मेटासी एक भाँडो मैले शब्द दिएको हो । त्यही गीतको मेन थिम नै त्यही हो । यदि मेरो थिएन भने मेरो नाम किन राख्नुभयो । यदि मेरो थियो भने मेरो नाम किन राख्नु भएन ? मलाई खुलदुली लागिरहेको छ ।

पहिलो शब्द मेरो थियो । बाँकी शब्द सानु केसीले लेखेको हो । मेरो शब्द अन्तिममा लगेर राखेको भए पनि मेरो चाह हुँदैन थियो होला । मैले सुन्दिनँ थिएँ होला । मैले मुद्दा पनि हालेँ । त्यसमा उहाँ कुरा गर्न पनि आउनुभएन । ठीक छ । एउटा गीतले केही पनि हुनेवाला छैन । सांगीतिक माहोलमा टिक्न पर्‍यो नि ! टिक्नको लागि नै वर्षमा एउटा/दुईटा गीत गरिरहेका छु । सांगीतिक फिल्डबाट अहिले आउने केही होइन । युट्युबमा करोड भ्यु गए पनि केही हुनेवाला छैन । त्यसकारण म त्यसमा विवाद गर्न चाहन्न ।

युट्युबबाट कमाइन्छ भनिन्छ नि ?
कसरी कमाए उहाँहरुलाई नै थाहा होला । यसबारेमा म त्यत्ति चर्चा गर्न चाहन्न ।

यहाँ काँठे लोकदोहोरी क्षेत्रमा कलाकार आउने र पलायन हुने क्रम चलिरहेको छ । यसको कारण ?
चाहे काँठ होस्, चाहे पश्च‍िम होस्, चाहे जुनै क्षेत्र पनि कमाई कहींबाट छैन । जता पनि खर्च छ । एउटा अडियो रेकर्ड गरेपछि म्युजिक भिडियो अनिवार्य बनाउनुपर्छ । पुराना स्रष्टाहरुले पनि गीत गर्न छोडेछन् । नयाँ बरु तातेका छन् । पुराना स्रष्टाले हिजो एउटा अडियो बनाएर क्यासेट सेन्टरमा पुर्‍याउँदाखेरी उहाँहरुलाई पैसा दिन्थे अनि भिडियो गर्न सजिलो हुन्थ्यो । त्यसकारण गीतसंगीत अहिले खस्किएको हो ।

रुचीका कारण नवकलाकार बढी आएको देखिन्छ । उहाँहरुलाई तपाईंको केही सुझाव छ ?
नवकलाकार आउनुपर्छ । किनकि नवकलाकार नआए त सांगीतिक माहोल अगाडि बढ्दैन । नवकलाकार पनि चाहिन्छ र पुराना स्रष्टा पनि हाम्रा लागि चाहिन्छ । नवकलाकारले हाम्रा भन्दा पनि राम्रो सिर्जना निकाल्न सक्छन् । पुराना स्रष्टाहरुले सल्लाह, सुझाव दिनुहुन्छ नवकलाकारलाई अगाडि बढ्न सजिलो हुन्छ ।

तपाईंले गाइएका र सिर्जना गरेका गीतहरु मानिसहरुका मनछुने खालका हुन्छन् । यस्ता सिर्जनाहरु कसरी गर्नुहुन्छ ?
मनछुने शब्द लेख्दाखेरी, मनछुने लय बनाउनु भनेको आफैंलाई पीडा परेपछि त्यो महसुस गर्ने हो । मैले वैशाख १२ भन्ने भूँइचालोको गीत बनाएको थिएँ । वाग्मती अवार्ड परेर म रसुवामा गएको थिएँ । फर्केर आउँदा बाटोमा निकै घर भत्किएर मान्छे पुरिएर बेहालत भएको थियो । त्यसै सन्दर्भमा हेर्दै हेर्दै आउँदा शब्दहरु आफ्सेआफ उत्रे जस्तो लाग्यो । गीत लेख्दा आफूलाई नै पीडा परेजस्तो भएपछि म शब्द उतार्छु । कतिपयले शब्द हचुवामा लेख्छन् । तर मलाई आफैंलाई परेको महसुस भएपछि लेख्छु ।

भनेपछि यहाँले गीत लेख्ने विषय सम्बन्धित ठाउँमा पुगेर सोच्नु हुन्छ ?
म जहाँ जान्छु । घटना पर्‍यो भने । रत्यौली, जात्रा, मात्रा जता गए पनि यत्तिको शब्द हुन्छ भन्ने मनमा छोयो भनेमात्रै म लेख्न थाल्छु । हतपती लेख्दिनँ । शब्द भन्ने चिज मनलाई छुनुपर्छ । आफ्नो मनलाई छोएपछि अन्य व्यक्तिलाई पनि छुन्छ । छोएपछि त्यो गीत अलिकति राम्रो हुन्छ कि जस्तो लाग्छ ।

काँठे लोकदोहोरी क्षेत्रमा विकृति आएकाले धरासायी भएको हो भनिन्छ, के हो ?
विकृति आयो भन्दा म अरुको चियोचर्चा गरेर हिँड्दिनँ । पछिल्लो चरणमा मैले गीत गर्दा अग्रज कलाकारहरुसँग सल्लाह लिन्छु । दिग्गज भाइहरुसँग पनि लिन्छु । उत्छृंखल व्यक्तिहरुसँग पछिल्लो समय हिँड्न पनि छोडेँ । विकृति त आछ । त्यो कुरा उच्चारण गर्‍यो भने आफैंमाथि ढुंगामुढा आइलाग्छ ।

तपाईंका गीतसंगीतका भावी योजनाहरु के कस्ता छन् ?
पछिल्लो चरणमा मैले लोकपप र लोकदोहोरी गीत गर्ने तयारीमा छु । लोकपप सम्भवत: वैशाखसम्म निकाल्छु । लोकदोहोरी यही माघको अन्तिम अन्तिमसम्म निकाल्ने तयारीमा छु । एरेन्ज गरिसकेको छु भने रिदमहरु पनि हालिसकेको छु । भोकल हालेर बजारमा ल्याउन बाँकी छ ।

अन्त्यमा दर्शक/स्रोतालाई के भन्न चाहनुहुन्छ ?
मेरा गीत, संगीतहरु बजारमा आउँदैछन् । घरमा माहुरी गेटमा फूलको बोट भर्खरै बजारमा पठाको छु, सरगम संगम इन्टरटेन्टमेन्टबाट । खोजी खोजी हेर्दिनुहोला । सुनिदिनु होला र कमीकमजोरी के छ ओंल्याइदिन भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्