आयातमा प्रतिबन्ध रहेको इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती



काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो। विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइयो। सरकारले प्रतिबन्ध लगाएको १९ महिना भएको छ। प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६र ७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो। भारतबाहेक तेस्रो मुलुकबाट चलान भएको सामान नेपाल भित्रिन ३० देखि ४५ दिन लाग्छ। अर्थात् करिब १५ महिनायता विदेशमा उत्पादित इनर्जी ड्रिंक्स एक थोपा पनि आधिकारिक च्यानलबाट आएको छैन।

विभागका अनुसार आव २०७५ र ०७६ मा दुई अर्ब ३९ करोडको इनर्जी ड्रिंक्स आयात भएकोमा गत आवमा ५३ करोडको मात्र भित्रिएको छ। यो वर्षको पहिलो ६ महिनामा आयात देखिँदैन। आयातमा प्रतिबन्ध भए पनि अहिले बजारमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै किन्न पाइन्छ। १९ महिनाअघि आयातमा प्रतिबन्ध लागिसकेको इनर्जी ड्रिंक्स बजारमा भेटिएको आन्तरिक बजार नियमन गर्ने अख्तियारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी पनि स्विकार्छन्। ‘अहिलेसम्म विदेशी इनर्जी ड्रिंक्स बजारमा भेटिइरहेको रिपोर्ट हामीकहाँ आएको छ,’ महानिर्देशक सुवेदीले नागरिकसँग भने, ‘यस विषयमा सचिवस्तरमै कुरा उठेको छ।’

धेरैअघि आयातमा प्रतिबन्ध लागेको वस्तु बजारमा नभेटिनुपर्ने उनी बताउँछन्। ‘अहिलेसम्म स्टक नरहनुपर्ने हो,’ उनले भने। विगतमा यसको आयातमा संलग्न ठूला व्यवसायीहरू आफ्नो स्टक उहिल्यै सकिएको बताउँछन्। बिहीबार खुद्रा पसलमा रेडबुल ब्रान्डको इनर्जी ड्रिंक्स खरिद गर्दा उत्पादन मिति २०१९ सेप्टेम्बर २१ उल्लेख थियो। यो नेपालले आयातमा प्रतिबन्ध लगाउनुभन्दा तीन महिनापछि उत्पादित सामान हो। रेडबुल आयात गर्ने कम्पनीका अधिकारीले आफ्नो मौज्दात पहिल्यै सकिएको बताए।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्