प्रधानमन्त्री ओली सामन्तीको एजेन्ट भए : प्रचण्ड
रुपन्देही माघ १५ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको केपी शर्मा ओली सामन्तीको एजेन्ट भएको बताएका छन्।
पार्टी एकतापछि महँगी भ्रष्टाचार अन्त्य गर्दै सबैलाई समानता र सम्मान गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने भन्दै आफूले बाँकी जीवन समृद्धिका लागि समर्पित गर्छु भनेको उनले स्मरण गराए। प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत रूपन्देहीको बुटवलमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले ओली तानाशाहीका रूपमा अघि बढेको आरोप लगाए ।
गलत विचारविरुद्ध न्याय र स्वतन्त्रताको पक्षमा अपिल गर्न आएको उनको भनाइ थियो। पार्टी एकता र वाम गठबन्धनको कारण खुलाउँदै उनले पार्टी एकताले राजनीतिक अस्थिरताको अन्त्य भई समानताको न्यायतिर लान सकिने विश्वास गरेको बताए।
देशलाई एक ढिक्का गराएर विकासको गतिमा अघि बढाउन पार्टी एकताको पक्षमा केपी ओलीसँग गएपनि पार्टी एकता तोड्ने काम भएको उनले बताए। विकास र नयाँ युगतिर जाने सम्झौता गरे पनि केपी ओलीले सबै सपना कुठराघात गरेका पनि उनले आरोप लगाए।