चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, आठ करोड रुपैयाँ बक्यौता बाँकी



काठमाडौं माघ १५ ।

उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा अग्रवाललाई काठमाण्डौको त्रिपुरेश्वरमा रहेको निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । बुधवार बेलुका पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि बिहीवार सर्लाही पठाइएको पनि उनले बताए । अग्रवालविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगीसम्बन्धी उजुरी परेको छ ।

सर्लाहीका उखु किसानले १७ करोड रुपैयाँ दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाण्डौबाट पक्राउ गरि थप अनुसन्धानका लागि सर्लाही पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई वटा चिनी मिलले उखु किसानलाई आठ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानले गएको मङ्सिर २८ गतेदेखि काठमाण्डौमा आन्दोलन गरेका थिए । किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्ने सहमति भएको थियो तर चिनी उद्योगले अझै उखु किसानको सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

यसअघि बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्