प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको बुटवलमा विरोधसभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
रूपन्देही माघ १५ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले बिहीबार बुटवलमा विरोध सभा गर्दैछ ।
नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दिउँसो १ बजे विरोध सभा सुरु हुने जनाइएको छ । सभामा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए । सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।
गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान समेत गरेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा संसद् विघटन भएको थियो । त्यसपछि नेकपाले चरणबद्ध आन्दोलन गरिरहेको छ ।