नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने



काठमाडौं माघ १३ ।

नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् ।

बुधबार बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए। उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनेछन् ।

खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाण्डौको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।

बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए ।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्