बहिनीको नग्न तस्वीर खिचेर दिदीको सामुहिक बलात्कार गर्ने ट्राफिक पक्राउ



रुपन्देही,माघ १२ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला ट्राफिक कार्यालयमा दरबन्दी भएर लुम्बिनी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले घटनाको पुष्टिगर्दै ट्राफिक प्रहरी जवान शर्मा सहित तीनजना मिलेर एक महिलाको सामुहिक बलात्कार गरेको बताए । उनका अनुसार २७ कात्तिकमा स्थानिय कञ्चन गाउँपालिका–५ मा बाटोमा हिंडिरहेका दुईजना महिलालाई उनीहरुले केरकार गरेका थिए ।

दिदी र बहिनी साथीको जन्मदिन मनाउन गइरहेको बताएपनि जिल्लामा ‘हाइ प्रोफाइल’ प्रहरी जवानका रुपमा बदनाम शर्माले झुठ बोल्ने भन्दै महिलाहरुलाई धम्काएका थिए । महिलाले आक्रोस ब्यक्त गरेपछि शर्माले आफ्ना अन्य तीनजना साथीलाई बोलाएर दुबै महिलालाई नियन्त्रणमा लिएका थिए ।

‘बहिनीलाई नग्न बनाएर तस्वीर खिंचे, त्यसपछि चारजनाले दिदीसँग करणी गरेको खुलेको छ, ’ एसपी पोखरेलले भने,‘ घटनामा संलग्न रहेका दुईजना नियन्त्रणमा छन ।’ उनका अनुसार घटनामा संलग्न अन्य दुईजना भारतीय नागरिक भएको खुलेको छ ।
प्रहरी अनुसन्धानमा सामुहिक बलात्कारमा परेकी महिलालाई घटनाका बिषयमा कतै कसैलाई भने बहिनीको नग्न तस्वीर सार्वजनिक गर्ने भनेर धम्काएको खुलेको छ । त्यसपछि मौन रहेका उनीहरुले कतै उजुरी गरेका थिएनन् । तर अचानक ती महिलाका बाबुलाई कसैले आफ्नै छोरीको नग्न तस्वीर पठाएपछि उनी रुपन्देही प्रहरीको शरणमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्