सर्लाहीमा यात्रु बस दुर्घटनाग्रस्त, दुईको मृत्यु, १९ घाइते



सर्लाही, माघ ८ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत जिल्लाको हरिवनमा यात्रु बस दुर्घटना भएको छ। उक्त सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्को एक जनालाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० मध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरको भनाइ छ ।

चालकसहित ५ जनाको अवस्था गम्भीर रहेकाले कारण उनीहरूलाई उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । ९ जनाको अवस्था सामान्य देखिएकोले स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका ५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । यात्रुबसमा सवार अन्य ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्