आज १० लाख कोरोना खोप आइपुग्ने, खोप भण्डारणदेखि लगाउनेसम्मको तयारी पूरा



काठमाडौं,माघ ८ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ । उनले भने, ‘प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एकपटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप व्यक्तिको पाखुरामा लगाइन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ । डा. उप्रेतीले भने, ‘खोप लगाएपश्चात् कुनै घटना घटिहाले निष्पक्ष जाँचबुझ हुन्छ । अवाञ्छित घटना घटेपछि त्यसको जाँचबुझ गर्ने समिति छ । समितिले अध्ययन गर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप लगाउँदा कुनै समस्या देखिए उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले भने, ‘खोप लगाउँदा कुनै समस्या देखिए उपचार सरकारले गर्छ । त्यसका लागि हामी तयारी अवस्थामा छौं ।’ नेपालको कानुनमा खोप लगाएपछि खोपकै कारण कुनै घटना घटे क्षतिपूर्तिको व्यवस्था छ ।

खोपलाई दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । खोप लगाउन कसैलाई पनि बाध्य नपारिने र फराम भर्न लगाएर मात्रै खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गर्भवती, सुत्केरी, पहिलो मात्रा दिँदा समस्या देखिएका व्यक्तिलाई (दोस्रो मात्रा नदिने), १८ वर्ष उमेर समूह मुनिकालाई खोप दिन नमिल्ने खोप विज्ञहरू बताउँछन् । यस्तै, सिकिस्त बिरामीलाई अवस्था हेरेर केही दिनपछि पनि खोप उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

हालसालै भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ । पहिलो चरणमा ५ लाख नागरिकलाई खोप उपलब्ध गराइनेछ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेछ । कानुनी, प्रशाशनिक, आर्थिक र प्राविधिक समस्या हल भइसकेको र खोप लगाउन सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

थप खोप खरिद प्रक्रियासमेत सरकारले अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक बुथबाट खोप उपलब्ध गराइनेछ । खोप अभियानलाई सफल बनाउन ८ हजार स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जिल्लामा तालिम भइरहेको छ । गत शुक्रबार नेपालले भ्याक्सिन आयातमा आपतकालीन स्वीकृति दिएको थियो ।

आज १० लाख डोज आउँदै

नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप १० लाख डोज (मात्रा) उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने खोप आज (बिहीबार)नै नेपाल आइपुग्ने जानकारी दिए । नेपालमा आउने खोप कोभिसिल्ड हो ।

खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले खोप ल्याउन आर्थिक, प्रशासनिक र प्राविधिक जटिलता नभएको बताए । बुधबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी अनुदानमा खोप उपलब्ध गराउनेबारे जानकारी गराइएको थियो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्