उखु किसानलाई आठ करोड भुक्तानी बाकी



काठमाडौं, माघ ७ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख रुपैयाँ बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन्।

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैकुष्ठ अर्यालले जानकारी दिए। उनका अनुसार ३५ करोड रुपैयाँ बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार १७ करोड रुपैयाँ बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख रुपैयाँ बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ।

मिललको बैंक खातामा एक करोड ७६ लाख रुपैयाँ जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन। किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी बाँकी रहेको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्