१५ महिनायताकै धेरै आयात, भन्सार राजस्व ९ प्रतिशत बढ्यो
काठमाडौं माघ ४ ।
पुस महिनामा मात्रै नेपालमा एक खर्ब ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
यो गत १५ महिनायताकै सबैभन्दा धेरै रकमको आयात भएको भन्सार विभागले जनाएको छ। कोरोना महामारीका कारण केही समय अघिसम्म आयातमा कमी आएको थियो।
गत २०७५ असोजमा एक खर्ब ४१ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो। त्यसयता भने आयातमा वृद्धि हुन सकेको थिएन। गत वर्ष पुसको तुलनामा भने नेपालमा हुने आयात १९ प्रतिशतले वृद्धि भएको हो। गत पुसमा नेपालमा जम्मा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको मात्र आयात भएको थियो।
समग्रमा चालू आर्थिक वर्षको ६ महिनामा आयात ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो आयात ४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा निर्यात पनि ११.१८ प्रतिशतले बढेर १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुसमा निर्यात ९ अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको थियो। त्यस्तै आर्थिक वर्षको ६ महिनामा निर्यात गत वर्षको तुलनामा ६ प्रतिशतले बढेर ६० अर्ब रुपैयाँ भएको छ।
त्यस्तै पुसमा भन्सार राजस्वमा पनि वृद्धि आएको छ। भन्सार विभागका अनुसार पुस महिनामा भन्सार राजस्व ३७.७७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस महिनामा भन्सार राजस्व २७ अर्ब ९९ करोड रुपैयाँ थियो। तर चालू आर्थिक वर्षको पुस महिनामा भने भन्सार राजस्व ३८ अर्ब ५७ करोड पुगेको भन्सार विभागले जनाएको छ।
त्यस्तै समग्रमा राजस्व गत आर्थिक वर्षको ६ महिनाको तुलनामा भन्सार राजस्व ९ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको ६ महिनामा भन्सार राजस्व १ खर्ब ८० अर्ब रुपैयाँ भएको थियो। नेपालमा उच्च भन्सार दरका सवारी साधनहरुको आयातमा आएको वृद्धिका कारण भन्सार राजस्व बढेको विभागको दावी छ।