नुवाकोटको सूर्यगढी फलाटेमा नेकपा (प्रचण्ड-नेपाल) समूहको विरोधसभा
नुवाकोट माघ ४ । नेकपा (प्रचण्ड-नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार गाउँपालिकास्तरीय बृहत् विरोधसभा सम्पन्न गरेको छ ।
सूर्यगढी गाउँपालिकाको फलाटेमा नुवाकोट ख का सचिव जीतबहादुर घलेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा नेता तथा पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सन्चालन नेकपा सूर्यगढीका सचिव पुरुषोत्तम अधिकारीले गरेका थिए ।
यो क्षेत्र तत्कालीन एमालेको केपी प्यानलबाट नारायणप्रसाद खतिवडासँग जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेकी र अहिले केपी पक्षको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य बद्री मैनालीको गाउँ हो । कार्यक्रममा तत्कालीन माओवादी केन्द्रसहित पूर्वएमाले तर्फका समेत बहुसंख्यक कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम भएको प्रदेश समन्वय कमिटी १ ख का संयोजक सुवास तामाङले जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथि नेकपा वाग्मती प्रदेश सचिवालय सदस्य पुष्प लामिछाने, प्रदेश कमिटी सदस्य अचुत पाण्डे, जिल्ला कार्यालयका धर्म अधिकारी, नुवाकोट जिल्ला क्षेत्र नम्बर १ का संयोजक पदम उप्रेती, सचिव राजन गौतम, प्रदेश समन्वय कमिटी १ ख का संयोजक सुवास तामाङ, जिल्ला सचिवालय सदस्यहरु, पूर्णलाल श्रेष्ठ, सूर्यगढी गाउँपालिका इन्चार्ज इमानसिङ तामाङ, जिल्ला कमिटी सदस्यहरु केशर सेन्चुरी, रमेश वस्ती, निर्मला अधिकारी, राजु सडौला, गाउँपालिका कमिटीका सदस्यहरु, नेकपाका शुभेच्छुक लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पुस ५ गते असंवैधानिक, अलोकतान्त्रिक तवरले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा दुर्घटना निम्त्याएको बताएका थिए । उनीहरुले संसद् पुनर्स्थापना नभएसम्म देशव्यापी रुपमा आन्दोलन जारी राख्ने र त्यसका लागि गाउँ गाउँमा खटिन जोड दिएका थिए ।
ओलीको कदमपछि नेकपा दुई समूहमा विभाजन भएको छ । केपी ओली पक्षले आफ्नो सरकार र अध्यक्ष ओलीको कदमको बचाउ गरिरहेका छन् भने प्रचण्ड-माधव-झलनाथ पक्षले असंवैधानिक कदम सच्चिनु पर्ने भन्दै देशव्यापी आन्दोलन जारी राखेको छ । संसद् विघटन अवैधानिक भन्दै नेकपाको साथसाथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दल, नागरिक समाज, विभिन्न अधिकारवादी संस्थाहरुसमेत ओलीको कदम संविधानमाथि कु भन्दै आन्दोलनमा लगातार लागिरहेका छन् ।
नेकपा प्रचण्ड माधव समूहले यही माघ ९ गते काठमाडौंमा ओलीको कदमको विरोधमा सशक्त जनप्रदर्शन गर्ने तय गरेको छ । नेकपाका कुन समूहले आधिकारिकता पाउने भन्ने विषय निर्वाचन आयोगले र संसद् पुनर्स्थापना वा ओलीको कदमलाई सदर भन्ने विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाउने छन् ।