संविधानको उल्लंघन गरेकाले ओली प्रधानमन्त्री पदमा बस्न मिल्दैन: घनश्याम भुसाल
बुटवल माघ ३ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले संविधानको उल्लंघन गरेकाले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन्।
प्रचण्ड–नेपाल समूहको नेकपाले रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने,‘संविधान उल्लंघन भएको हुँदा केपी ओली प्रधानमन्त्रीको पदमा बस्न मिल्दैन।’
उनले संसद पुनर्स्थापना भए पार्टी एकता जोगिने पनि बताए । संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनर्स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनको भनाइ ।
भुसालले संसद पुनर्स्थापना हुन नदिने षड्यन्त्र भइरहेको दाबी गर्दै उक्त षड्यन्त्रविरूद्धको आन्दोलनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए। पूर्वमन्त्री समेत रहेका नेता भुसालले पार्टी कब्जा गर्ने, विधि—प्रक्रियाअनुसार नचलाउने, घोषणापत्र अनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको स्पष्ट पारे ।
नेता भुसालले वैशाखमा चुनाव नहुने र पछि भैहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने बताए। शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको उनले आरोप लगाए।