डोल्पामा कस्तुरीको दाँत र हतियारसहित पाँचजना पक्राउ



डोल्पा माघ २ ।
कस्तुरीको दाँत र हतियार सहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ ।

निकुञ्जको टोली र नेपाल प्रहरीको विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिका पाँचजनलाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा त्रिपूरा सुन्दरी नगरपालिका ११ वर्ष ४५ का मनबहादुर बुढा, ११ वर्ष ३७ का चन्द्रप्रसाद बुढा, वडा नम्बर ७ का वर्ष ४१ का सूर्यबहादुर बुढा, वर्ष ३० का चन्द्र केसी र वर्ष २१ का गोकर्ण बुढा स–प्रमाणसहित पक्राउ परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

पौडेलका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक २ थान, गोली ५० थान, बारुदको डिब्बा २ थान, वन्यजन्तुको जस्तो देखिने सिङमा बारुद भरिएको २ थान, कस्तुरीको दारा ५ थान र एक भाँचिएको सहित ६ थान, केप एक डिब्बा, कस्तुरीको जस्तो देखिने खुट्टा दुई थान, वन्यजन्तुको सिङ एकथान, कस्तुरी मार्न प्रयोग गरिने पासो १४ थान र सलाइ एक थान बरामद भएको बताए । विशेष सूचना पाएपछि प्रहरी र निकुञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक राजु पाण्डेले बताए । निकुञ्जका सिनियर गेमस्काउट धर्मराज हमालको नेतृत्वमा नेपाल प्रहरीको त्रिपूराकोट चौकीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार पक्राउ परेका पाँचैजना कस्तुरीको शिकारमा संलग्नलाई कारबाही हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्