एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्छ : मन्त्री रायमाझी
बुटवल माघ २ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । उनले मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी समेत गरे । नेकपाभित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए ।
प्रधानमन्त्रीले अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै दल चुनावमा होमिनुपर्नेमा जोड दिए । अर्को प्रसंगमा उनले नेपालमा वार्षिक ५ सय मेगावाट विद्युत उत्पादन हुने क्रममा रहेको, तर निर्यात गर्ने अवस्था नहुँदा चुनौती थपिएको बताए ।