नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं माघ १ ।
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावबारे नेताहरुलाई ब्रिफिङ गर्न स्थायी कमिटी बैठक बोलाइएको हो। बिहीवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
कांग्रेससँग भएको प्रस्तावबारे स्थायी कमिटीमा छलफल हुने उनको भनाई छ । प्रतिनिधि सभा विघटनपछि कांग्रेसँग सहकार्य गर्ने नीति अनुसार नै अध्यक्षले भेटेको नेकपाका नेताहरुको भनाई छ। साहले आन्दोलनको मोर्चाबन्दीबारे कांग्रेससँग मात्रै नभइ प्रधानमन्त्री केपी ओलीको कदमका बिरुद्ध उभिएका सबै राजनीतिक दलसँग छलफल भइरहेको बताए। अरु राजनीतिक दलहरुले संघर्षका लागि मोर्चा बनाउन प्रचण्ड माधव समूहलाई साथ दिने बताइसकेको भए पनि कांग्रेसले हालसम्म निर्णय गरिसकेको छैन।
बिहीवारको स्थायी कमिटी बैठकमा ओलीको बिरुद्धको आन्दोलनलाई कसरी शसक्त बनाउने भन्नेमा केन्द्रित हुने छ। यस्तै पार्टी संगठनमा नेताहरुको कार्य विभाजनका बिषयमा समेत छलफल हुने भएको छ। एकताको बाँकी काम र कार्य विभाजनका लागि अध्यक्ष माधव नेपालको संयोजकत्वको कार्यदलले काम गरिरहेको छ।