भारतसंग दीर्घकालीन असर पर्ने सम्झौता नगर्न मन्त्री ज्ञवालीलाई नागरिक अगुवाहरुको खवरदारी



काठमाडौं पुस २९ ।

नागरिक अगुवाहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न सचेत गराएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले माघ १ देखि हुने परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका हुन् ।

बुधबार वक्तव्य जारी गर्दै नागरिक अगुवाहरुले असहज अवस्थाको लाभ उठाई विगतमा गरिएका र गराउन खोजिएका सन्धि सम्झौताबाट सिर्जित इतिहासको भारी बोकिरहन अहिले पनि नेपाली जनता अभिशप्त भएकाले दीर्घकालीन असरका सम्झौतामा हस्ताक्षर नगर्न सचेत गराएका छन् ।

नयाँ चुनावको घोषणा भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः काम चलाउ भएको तर्क गर्दै उनीहरुले लोकतन्त्र र संविधानवादमा आधारित सुशासनमा विश्वास गर्ने कुनै पनि सरकारले अहिलेको अवस्थामा दीर्घकालीन प्रकृतिका र नीतिगत निर्णय गर्न नहुने धारणा राखेका छन् ।

विज्ञप्तिमा उपाध्याय र पौडेलसहित ईन्दिरा दली, डा। ऋषी अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दिपेन्द्रबहादुर क्षत्री, निनु चापागाई, मानवी पौडेल, युवराज पाण्डे, डा. सूर्यराज आचार्य, डा.सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शुरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई देशबीचको संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्र मन्त्री ज्ञवाली बिहीबार तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली जान लागेका हुन् । मन्त्री ज्ञवालीले कोरोनाभाइरसको खोप नेपाल ल्याउने र सीमालगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्