काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई पठाए संविधान र निर्मलाको तस्वीर
काठमाडौं पुस २५ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाएका छन् ।
शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान र निर्मला पन्तको तस्वीर पठाएका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमा नभएको धाराको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको काँग्रेसको आरोप रहेको छ । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेपछि प्रतिउत्तरमा शर्माले संविधान पठाइएको बताएका
हुन ।
यस्तै शुक्रबार धनगढीमा भएको ओलीपक्षीय भेलाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पुगेको कार्यक्रममा निर्मला पन्तलाई न्याय खोई लेखेको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरुप निर्मला पन्तको तस्वीर पठाइएको हो ।
संविधान र निर्मला पन्तको तस्बिरसहित उनले रोगले मरेका राजु सदा र भोकले मरेका सुर्यबहादुर तामाङको तस्वीर पनि पठाए । उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि गरेका छन् ।
प्रेस युनियनका काठमाडौंका अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तीनजनाको तस्वीर प्रधानमन्त्रीलाई पठाउने जानकारी दिए ।