संसदबाट भाग्ने ओली भगौडा हुन् : गगन थापा



काठमाडौं पुस २५ ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर कायर भएको बताएका छन्।

संसद् विघटनविरुद्ध कपनमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले ओली संसद् छोडेर भाग्ने भगौडा भएको बताएका हुन्।

‘अहिले प्रधानमनत्रीले युद्ध जितेजस्तो गरिहनुभएको छ। बंसिङ रिङबाट भाग्ने महाबौद्धमा पुगेर गोल्ड मेडल किनेर लाउने अनि म प्रथम भए भन्ने। खेल्नु त भएन नि भन्दा आएको भए त ढाल्दिन्थे भन्ने,’ उनले भने, ‘अहिले उहाँ अदालतलाई प्रभावित बनाउन मसँग ६४ प्रतिशत मत थियो। त्यसैले अर्को सरकार बन्दैन भन्नुहुन्छ। तर पार्टीमा काम गर्न दिइएन भन्नुहुन्छ। त्यसैले प्रधानमन्त्री क्रान्तिकारी होइन कायर हो। संसद् छोडेर भाग्ने भगौडा हो।’

उनले अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा जिम्मेवार रहेको बताए। राष्ट्रपति भण्डारी सम्मान गर्न योग्य नभएको बताउँदै उनले षड्यन्त्र गर्ने गिरोहसँग मिलेर काम गरेकाले सम्मानको लायक नरहेको बताए।

उनले ओलीले संविधानमाथि कु गरेको र यसलाई अदालतले सच्चाउनुपर्ने बताए। ‘संसद् पुनस्र्थापना हुन्छ। पुनस्र्थापनापछि ओलीलाई बालकोट पुर्‍याएर दमकको भ्यु टावरमा लगेर दमक हेर्न पठाउने हो। राष्ट्रपतिलाई चपली ल्याउने हो,’ उनले भने। प्रधानमन्त्रीकै कारण अहिले मूलुक चीन र भारतको खेल मैदान जस्तो भएको भन्दै थापाले आपत्ति समेत जनाए।

प्रतिक्रिया दिनुहोस्