बर्डफ्लु रोक्न सतर्कता, पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ आयातमा रोक
काठमाडौं,पुष २५ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टाइन कार्यालय र २४ पशु क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी सीमा क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भनेको हो। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरी शंकास्पद र जोखिम मानिएका पदार्थ, कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए।
काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज र कञ्चनपुरको गड्डाचौकी क्वारेन्टाइन कार्यालय र उक्त कार्यालयमातहतका २४ चेक पोस्टलाई निगरानी बढाउन भनिएको हो। प्रवक्ता घिमिरेका अनुसार गत बुधबारदेखि लागू हुने गरी विभागले सम्पूर्ण क्वारेन्टाइन कार्यालय र क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी भारतबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ आयात हुन नदिन निर्देशन दिएको हो।
‘लुकीछिपी र चोरी तस्करी गरेर ल्याइने जिउँदो र मासुका रूपमा रहेका पोल्ट्री तथा पोल्ट्रीजन्य पदार्थ तत्कालै नियन्त्रणमा लिएर नष्ट गर्न निर्देशन दिएका छौं’, प्रवक्ता घिमिरेले भने । उनले भने, ‘यसबाहेक नेपालमा प्रवेश नै गरिहाल्यो भने नियन्त्रणका लागि पनि आवश्यक प्राविधिक टोली गठन गरी तैनाथी अवस्थामा राखेका छौं।’ यसबाहेक सीमा क्षेत्रका जिल्ला प्रशासन, प्रहरी कार्यालय, प्रदेशस्तरीय ट्राफिक कार्यालय, सीमा क्षेत्र सुरक्षा दल, भन्सार तथा स्थानीय तहलाई पनि पत्राचार गरिएको छ।
बर्डफ्लु भित्रिइहाले किसानलाई मारमा नपार्ने गरी सरकारले आवश्यक तयारी सुरु गरेको छ। प्रभावित हुने किसानलाई राहत उपलब्ध गराउने विषयमा बिहीबार अर्थ मन्त्रालयसँग छलफलपछि आवश्यक बजेट माग गर्ने विषयमा निर्णयसमेत भएको प्रवक्ता घिमिरेले बताए। भारतका मध्यप्रदेश, महाराष्ट्र, राजस्थान, हिमाञ्चल, हरियाणा, केरला, गुजरातलगायत प्रदेशमा बर्डफ्लुका कारण १५ लाखभन्दा बढी चल्ला, कुखुरा, हाँस, परेवा नष्ट गरिएको छ। यसको संक्रमणबाट काग र बकुल्लासमेत प्रभावित भएर मरेका छन्। भारतको प्रभावित प्रदेश सरकारले कुखुरा र हाँसको मासु, अन्डालगायत बिक्रीमा प्रतिबन्ध लगाएका छन्। बर्डफ्लु एभियन इन्फ्लुएन्जाअन्तर्गतको एच फाइभ एन वनको कारण हुन्छ।
यसबाट संक्रमित पक्षीको सम्पर्कमा आउने पक्षी तथा जनावरमा तत्कालै यो भाइरस सर्ने गर्छ। पक्षी र जनावर हुँदै मानिसमा पनि यो भाइरस सर्न सक्छ। यो भाइरस अत्यन्त तीव्र दरमा सर्ने र कोभिड १९ भन्दा पनि ठूलो घातक भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए। ढकालका अनुसार बर्डफ्लु नियन्त्रण आदेश ०६४ अनुसार नष्ट गर्ने, प्रक्रिया पुर्याएर ल्याइएको वा पुर्याउन बाँकी रहेका तथा अवैध मानिएका पोल्ट्री तथा पोल्ट्रीजन्य पदार्थ तत्कालै नष्ट गर्ने वा जुन मुलुकबाट ल्याइएको हो, त्यही मुलुकमा फिर्ता पठाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको छ।
पशु क्वारेन्टाइन कार्यालय प्रमुख डा. कृष्णप्रसाद आचार्यका अनुसार गत वर्ष हेटांैडा र पोखरामा बर्डफ्लु संक्रमण भेटिएको थियो। दुई वर्षअघि विराटनगर र रसुवामा पनि बर्डफ्लुको संक्रमण फैलिएको थियो। विभिन्न मुलुकमा बर्डफ्लुको कारण मानिसकै ज्यान गइरहेको अवस्थामा नेपालमा पहिलो पटक एक जनाको ज्यान गएको थियो। गत वर्ष काभ्रेका एक जनाको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो।
बर्डफ्लुका ५ खतरनाक भाइरस
इन्फ्लुएन्जाअन्तर्गत ११ प्रकारका भाइरस पर्छन्। तर, यीमध्ये पाँच प्रकारका भाइरस मानिसका लागि घातक मानिएको छ। एच फाइभ एन वन, एच सेभेन एन थ्री, एच सेभेन एन सेभेन, एच सेभेन एन नाइन र एच नाइन एन टु श्रेणीको भाइरस सबैभन्दा खतरनाक मानिएको छ। एच फाइभ एन वन भाइरसबाट संक्रमित व्यक्तिको तत्कालै मृत्यु हुन सक्छ।
कसरी फैलिन्छ बर्डफ्लु
बर्डफ्लु संक्रमित पक्षीको दिसा, नाकबाट बग्ने पानीजस्तो पदार्थ, मुखबाट निस्कने र्याल र आँखाबाट बग्ने पानीको सम्पर्कमा आउने पक्षी, जनावर र मानिसमा भाइरस सर्न सक्छ। यसबाहेक संक्रमित क्षेत्रको सम्पर्कमा आउँदा, राम्ररी नपाएको मासु र अन्डा सेवन गर्दा र संक्रमित व्यक्तिको सम्पर्कमा आउनेलाई यो भाइरस सर्न सक्छ।
बर्डफ्लुको लक्षण
बर्डफ्लुबाट संक्रमित हुने व्यक्तिमा पखाला लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, कफ हुने, टाउको दुख्ने, मांसपेशीमा दुखाइ हुने, पेट दुख्ने, बान्ता हुने, घाँटीमा खसखस लाग्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्नेलगायत लक्षण देखिन सक्छ।
यसरी जोगिऔं
बर्डफ्लुबाट जोगिन सकिन्छ। यसका लागि साबुनपानीले कम्तीमा १५ सेकेन्डसम्म मिचिमिची हात धुनुपर्छ। साबुनपानी उपलब्ध नभएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। पोल्ट्री फार्ममा काम गर्दा हातमा ग्लोब्स र मुख तथा नाक छोप्ने गरी मास्क प्रयोग गर्नुपर्छ। भीडभाडमा जान नहुने विज्ञहरूले सुझाव दिएका छन्।
यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।