पुस महिनाभित्र भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी
काठमाडौं पुस २३ ।
सरकारसँग भएको सम्झौता अनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको भनाइ छ । सम्झौता भएको आठ दिन बितिसक्दा समेत भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपैयाँ किसानको खातामा आएको तर सम्झौता भएको नौ दिन भइसक्दा पनि किसानको खातामा बाँकी रुपैयाँ नआएको उनको भनाइ छ । सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिवद्धता जनाएको थियो ।
किसानको भुक्तानी नदिएका कारण सरकारले उद्योगीको खाता रोक्नुका साथै जग्गा जमिनसमेत रोक्का गरेको छ । उद्योगीले यही बहानामा किसानको भुक्तानी नदिएको मिश्रले बताए । उद्योग मन्त्रालयले भने किसानको भुक्तानी दिनका लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ । यो महिनाभित्र पनि भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानले चेतावनी दिएका छन् ।