संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ



काठमाडौं पुस २१ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुनेमा ढुक्क रहेको बताएका छन् ।

मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सुचालु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमती बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधि सभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे ।

त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाई छ । आफुहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रीत रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताए। उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्