विचारमा विकास नगरे प्रचण्ड-माधवहरु सर्वनाश हुन्छन् !



गोपाल किराती
देशद्रोही, भ्रष्टाचारी, फासीवादी खड्ग ओलीलाई पार्टीबाट निस्काशन कारबाही गरेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरुले एक कदम सही काम गरेका छन् । यद्यपि, यत्तिले नै उनीहरु क्रान्तिकारी चाहिँ भइहाल्दैनन् । परन्तु, ओली र प्रचण्डहरु एउटै पार्टीमा हुँदा उनीहरुलाई हेर्ने दृष्टिकोण र विभाजनपछिको दृष्टिकोण स्वत: भिन्न हुनु पर्दछ। विद्यमान गणतन्त्रमा नै नेपालको राष्ट्रियता र लोकतन्त्र संकेन्द्रित रहेको हो, जुन संविधानबमोजिम संसदमा निर्भर रहेको हो । तर, ओली सरकारको असम्बैधानिक निर्णयबाट संघीय प्रतिनिधिसभा विघटन गर्नाले त्यो अर्थात् गणतन्त्र संकटमा धकेलिएको छ, जसले देशलाई भयानक गृहयुद्वतर्फ घिसार्ने जोखिम बढेको छ । यस्तो समय ओलीतन्त्रका विरुद्व प्रचण्ड-माधवको कारबाहीलाई सकारात्मक दृष्टिले हेर्नु पर्छ र उनीहरुको आन्दोलन तयारीलाई गणतन्त्र रक्षाको दिशामा बदल्ने सचेत प्रयत्न गर्नु पर्दछ।

अत: सत्तासीन फादिवादी ओलीतन्त्रका विरुद्व सडक आन्दोलनमा आएको प्रचण्ड-नेपाल समूहलाई स्वागत गर्दै गणतन्त्र रक्षार्थ आन्दोलनलाई संविधानको समाजवादी पुनर्लेखनतर्फ विकासमा जोड दिनु ईमान्दार कम्युनिस्टको कर्तब्य हुन आउँछ।

उपरोक्त संदर्भमा माओवादी तथा पूर्वमावादीहरु र विभिन्न कम्युनिस्टहरुबीच सम्बन्ध विकास हेतु यो संक्षिप्त आलेख प्रकाशन गरिन्छ ।

१) आन्दोलनमा ऐक्यबद्वता र सहकार्यको प्रश्न
पूर्वमाओवादी प्रचण्डहरुको डबल नेकपाको आन्दोलन र पूर्वमाओवादी बाबुराम भट्टराईहरुको जसपाको आन्दोलन मुख्यत: ओलीतन्त्रविरुद्व केन्द्रित भएको हुँदा त्यसप्रति नेकपा (माओवादी केन्द्र) स्वत: ऐक्यबद्वता जाहेर गर्दछ र सहकार्यको स्तरमा सम्बन्ध विकसित गर्न अनौपचारिक छलफलहरु प्रारम्भसमेत भइसकेका छन् ।

२) मार्क्सवादी आन्दोलनमा वैचारिक-राजनीतिक कार्यदिशा ( Line) र नेतृत्व ( Leadership) का आधारमा दुईलाईन संघर्ष गरिन्छ । यसरी हेर्दा ओलीसँग प्रचण्ड-माधवको “लाईन संघर्ष” नभएर “लिडरसीप संघर्ष” हुन पुगेको देखिन्छ, जसका आधारमा उनीहरु विभाजित भए । अत: विचारधारा र राजनीतिमा खड्ग ओली र प्रचण्ड-माधव समूह एकै स्थानमा अर्थात् समान छन्, लिडरसीप अर्थात् नेतृत्वमा मात्र पार्टी विभाजित भएको प्रष्ट देखिन्छ ।

अब प्रश्न छ, के नेतृत्व संघर्षमा विजय हासिल गरेर मात्र राज्य जितिन्छ ? राज्यसत्ता जित्न फरक अथवा विशिष्ट विचारधारा र राजनीतिक कार्यदिशा आवश्यक पर्दैन ? मार्क्सवादी जवाफ हो, मुख्यत: विचारधारा र राजनीतिक कार्यदिशामा विशिष्ट विकासको जरुरत पर्छ । अन्यथा संगठन अकर्मण्यतामा फस्छ, जित्ने त कुरै नगरौं । “जसको विचार, उसको नेतृत्व” यसकारण भनिएको हो कि यी दुईमध्ये विचार मुख्य हो, ब्यक्ति सहायक । यद्यपि, ब्यक्तिले विचार निर्माण गर्छ र उक्त ब्यक्तिले निर्माण गरेको विचार सही लागेमा (ब्यक्तिहरुको) संगठनले स्वीकार गर्छ र त्यो पार्टी संगठनको विचार बन्छ ।

पार्टी संगठनको विचार कार्यान्वयन दायित्व ब्यक्तिकै हुन्छ, तर सामूहिक अथवा संगठित रुपमा । हो, यस आधारमा विचार निर्माण र कार्यान्वयनको दायित्व निश्चित ब्यक्ति र ब्यक्तिहरुको संगठनमा रहन्छ । “विचार निर्माण र कार्यान्वयन दायित्व” भएको संगठित ब्यक्तिलाई “नेतृत्व” र “कार्यान्वयन दायित्व” मात्र भएको संगठित ब्यक्तिलाई सामान्यत: “नेता” भन्न सकिन्छ ।

तब अर्को प्रश्न खडा हुन्छ, पार्टी विभाजनपछिको स्थितिमा प्रचण्ड-माधव “नयाँ नेतृत्व” हुने कि पुरानै विचारको कारिन्दा ? पुरानै अर्थात् ओलीसँग हुँदाकै विचारको कारिन्दा रहन्छन् भने प्रचण्ड-माधव समूहको सर्बनाश कसैले रोक्न सक्दैन, तर नयाँ विचार निर्माण र कार्यान्वयन दायित्व उठाउँछन् भने गणतन्त्र रक्षार्थ आन्दोलन हुँदै उनीहरु सिद्वान्तत: अझ अघि बढ्न सक्ने हुन्छन् । देश र जनताको अपेक्षा हो कि उनीहरु अघि बढ्ने ल्याकत आर्जन गरून् ।

उपरोक्त विश्लेषणबाट भन्न खोजिएको यो हो कि ओलीतन्त्र विरुद्व संघर्षमा अब्बल ठहर्न प्रचण्ड-माधव समूहले सर्वप्रथम विचारधारा र राजनीतिक कार्यदिशामा सशक्त विकास गरुन् । जसले, उनीहरुलाई ओली गुटभन्दा विशिष्टिकृत गरोस् । त्यस निमित्त हठात निम्न कदम चाल्न जरुरी देखिन्छ:

क) नेपाली गणतन्त्र हासिल गर्ने विचार मार्क्सवाद-लेनिनवाद-माओवाद (संक्षेपमा “माओवाद”) हो । अत: गणतन्त्र रक्षार्थ वैचारिक सामर्थ्य आर्जन गर्न स्वभाविक रुपमा प्रचण्ड-माधव समूहले माओवादको विज्ञान अख्तियार गर्न जरुरी छ ।

ख) “माओवाद” भन्दा कसैको ज्यान नै गईहाल्ने रहेछ भने त्यस ब्यक्तिको ज्यान जोगाउँदै अघि बढ्न कम्तीमा “माओ विचारधारा” मा त उठ्नै पर्छ । तब भन्न सकिन्छ, प्रचण्ड-माधवहरु एउटा जमर्को गर्दैछन ।

ग) प्रचण्ड-माधवले अख्तियार गरेको भनिएको समाजवादी राजनीतिक कार्यदिशा वस्तुत: अमूर्त छ । भनिरहनु पर्दैन, अमूर्त समाजवाद काल्पनिक समाजवाद हो र काल्पनिक समाजवाद पुँजीवाद, नेपालको संदर्भमा दलाल पुँजीवाद नै हो । त्यस नियतिबाट माथि उठ्न उनीहरुले आफ्नो राजनीतिक कार्यदिशालाई मूर्त तुल्याउन जरुरी छ, जसका निम्ति सहयोग गर्न नेकपा (माओवादी केन्द्र) तयार छ ।

३) गणतन्त्रमा संकेन्द्रित राष्ट्रियताको अर्थ
भारतको हिन्दु अतिवादी संगठन “राष्ट्रिय स्वयंसेवक संघ (Rss)” का नेपाली दलालहरु घिच्रो फुलाउँदै चिच्याउन थालेका छन् कि यहाँ हिन्दु राजा र राज्य चाहियो । भाजपाको मोदी सरकार त्यही Rss निर्देशित सरकार हो । त्यहाँको कांगेस आई कमसेकम धर्मनिरपेक्षताको पक्षपाती देखिन्थ्यो । तर, जम्मु-काश्मीर मुद्दामा हिन्दु साम्राज्यवाद थोपर्ने मोदी सरकार र गणतन्त्रलगायत जनयुद्व र जनआन्दोलनका उपलब्धीहरु अस्वीकार गर्ने खड्ग ओलीबीच एमसीसी माध्यम ईण्डो-अमेरिकन प्रपञ्चमा नेपालमा भयानक गृहयुद्व थोपरिंदैछ । जसका निम्ति आंशिक उपलब्धिको संविधान निस्तेज पार्दै हिन्दु राजतन्त्र फर्काउन ओलीतन्त्र लागि परेको प्रचार भारतीयहरुले गरिरहेका छन् ।

प्रस्ट छ, मुख्यत: भाजपा सरकार र सहायकमा अमेरिकी समर्थनको राजतन्त्र फर्काउने प्रपञ्चले नेपालको राष्ट्रिय स्वाधीनता रक्षा गर्ला ? किमार्थ गर्दैन । बरु ईण्डो-अमेरिकन प्रपञ्चको राजतन्त्र फर्केमा त्यसले गणतन्त्र नेपाललाई सिक्किमको बाटो हिँड्न अझ बाध्य तुल्याउने छ । अत: राष्ट्रियता र लोकतन्त्र रक्षाको एक मात्र कार्यभार गणतन्त्र रक्षार्थ बृहत्तर आन्दोलन नै हो ।

यसरी नेकपा (माओवादी केन्द्र) ले आफ्नो स्थायी समितिबाट भर्खरै निर्णय लिइयो- “गणतन्त्र रक्षार्थ माओवादी तथा पूर्वमाओवादीहरु, विभिन्न कम्युनिस्टहरु, पहिचान पक्षधर समाजवादीहरु र लोकतन्त्रिक शक्तिहरुबीच सहकार्य र संयुक्त आन्दोलनमा जोड दिनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्