अध्यादेशसम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं पुस १७ ।
राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ भइरहेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३० मंसिरमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्का ६ सदस्यमध्ये तीन जनाले नै निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको विरोधमा रिट दायर भएको थियो ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतमा विचाराधीन अध्यादेशलाई टेकेर प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक आयोगमा नियुक्ति दिइसकेका छन् ।