प्रचण्डलाई लेखराज भट्टको प्रश्न जनयुद्धमा मारिएका १२ हजारको जिम्मा कसले लिन्छ ?



काठमाडौं पुस १५ ।

नेकपाको केपी ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्रीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्दा दाहाल–नेपाल समूहले आँट नगरेको बताएका छन्।

उक्त समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले नेकपाको स्थायी कमिटी बैठकमा सम्मानजनक रुपमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्नुभएकै हो। तर उहाँहरुले आँट गर्नुभएन। अहिले नै प्रधानमन्त्री चाहियो, अहिले नै अध्यक्ष चाहियो।’

सचिवालय बैठकमा पुष्पकमल दाहालले प्रस्तुत गरेको १९ बुँदे आरोपपत्रमा सिद्धान्त, विचार केही नभएको उनले बताए। कम्युनिस्ट आन्दोलन अगाडि बढाउने भन्दा पनि विघटन गराउन दाहाल–नेपाल समूह उद्यत रहेको आरोप उनले लगाए।

पुष्पकमल दाहालले जनयुद्धमा मारिएका ५ हजारको जिम्मा लिने बताएको सन्दर्भ उल्लेख गर्दै भट्टले बाँकी १२ हजारको जिम्माचाहिँ कसले लिन्छ भनेर प्रश्न गरे। ‘आँट भए त १७ हजारकै जिम्मा लिनुपर्‍यो नि,’ उनले भने।

भट्टले सम्बोधनको अधिकांश समय प्रचण्डको आलोचना र ओलीको प्रशंसामा खर्चिएका थिए।

पूर्वमाओवादी नेता भट्ट नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन्।

प्रतिक्रिया दिनुहोस्