विद्युतीय ग्रिड सुधारका लागि एडीबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण लिने सम्झौता



काठमाडौं पुस १५ ।

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग १ सय ५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।

सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रशारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको लागत झण्डै २२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी देशमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्