विकासको दूरदृष्टि
झंकनाथ ढकाल
कुनै पनि क्षेत्रमा सफलताका लागि एक वा दुई पक्ष महत्वपूर्ण हुन्छन् । सर्वप्रथम हामीले रणनीति सिर्जना गर्नु आवश्यक हुन्छ । तत्पश्चात् त्यसको सफल कार्यान्वयन अत्यन्त महत्वपूर्ण हुन्छ । रणनीति दूरदृष्टिको महत्वपूर्ण भागको रूपमा रहेको हुन्छ । त्यही नै कार्यान्वयन ध्येयको रूपमा हाम्रो सोचलाई धरातलमा उतार्ने माध्याम हो । जसले त्यसको सफलता सुनिश्चित गर्दछ ।
नेपालका सबै जनसमुदायले आत्मसम्मान र आत्मगौरवको जीवन बिताउन सकुन् । मुलुकको दूरदराजमा बस्ने अन्तिम व्यक्तिलाई विकासको मूल प्रवाहमा जोड्न सक्षम हुने किसिमको पारदर्शी, स्वच्छ, संवेदनशील संयन्त्रको विकास गर्नु जरूरी हुन्छ । नेपालको संस्कृति अर्थात् अनुपम सांस्कृतिक विशेषता र प्रकृति समस्त विश्वका लागि प्रेणको श्रोत रही आएको छ । हाम्रो यो सुन्दर देशले विगतको आफ्नो वैभवलाई पुन: प्राप्त गर्ने दिशामा अगाडि बढ्नु पर्दछ । समृद्वि, विकास, योजनामा सर्वश्रेष्ठता हासिल गर्न सक्ने किसिमले काम गर्न जरूरी छ । यसका लागि सुविचारित दूरदृष्टि पत्र तयार गर्नु पर्दछ । यसमा सबै समस्याहरूको गहन विश्लेषण गरी यी समस्या र चुनौतीहरूको समयबद्व रूपमा समाधानका लागि एक मार्गचित्र तयार गर्नु पर्छ । चाहे त्यो बेरोजगारी समस्या होस् वा प्रतिभा वा अन्य पलायनको समस्या होस्, ग्रामीण क्षेत्रमा दिगो र वातावरणमैत्री सडक सञ्जाल होस, कमजोर आर्थिक अवस्था होस, शैक्षिक, प्राविधिक र विश्वविद्यालयको कमी होस महिला सशक्तिकरणको प्रश्न होस् आपतकालीन स्वास्थ्य सेवा होस् औद्योगिक विकास होस वा कृषिको आधुनिकीकरण र व्यवसायिकरणको कुरा होस्, जलश्रोतको बहुपयोगको विषय होस, वन जंगल जडीबुटीको उपयोग होस रैथाने प्रविधिको संरक्षण विकास पर्यावरण संरक्षणको विषय होस् ।
दूरदृष्टिमा यी सबै समस्याको निदानको साथै नेपाललाई सुसंस्कारित, सुसम्पन्न, विकसित र आर्थिक दृष्टिबाट सुदृढ मुलुक बनाउनमा सबैको योगदान सुनिश्चित गर्ने प्रयास गर्नु पर्दछ । लक्ष्य प्राप्तिमा युवाहरूको सहभागिता सुनिश्चित गर्दै कर्तव्यनिष्ठता, इमान्दारिता, सौर्य, अनुशासन प्रियता र आपसी सहयोगबाट समृद्व नेपाल बनाउने विषय भिजनको महत्वपूर्ण भाग हुनुपर्छ । आर्थिक गतिविधि बढाएर रोजगारीका नयाँ अवसर सिर्जना गरी पलायनको समस्या समाधान गर्ने प्रमुख लक्ष्य हुनु पर्दछ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्दुत्जस्ता आधारभूत सुविधालाई जनसाधारणसम्म पर्याएर उनीहरूको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउने प्रयास गर्नु पर्दछ।
पर्यावरणको दृष्टिकोणबाट नेपालको संवेदनशीलतालाई दृष्टिगत गर्दै प्राकृतिक स्रोत साधनको कुशल व्यवस्थापन त्यसको संरक्षणमा जोड दिनु पर्दछ ।
आयुर्वेदको क्षेत्रमा शोधलाई महत्व दिँदै अन्तर्राष्ट्रियस्तरको आयुर्वेद विश्वविद्यालय, जडीबुटी अनुसन्धानको माध्यामबाट विश्वको हर्वल बजारमा नेपाली ब्राण्डलाई स्थापित गर्ने प्रमुख लक्ष्य राख्नु पर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा मुलुकको भौगोलिक, पारिस्थितिक विविधता, स्थानीय आवश्यकता अनुरूप विभिन्न विधासँग जोडिएका वैज्ञानिक, नीति निर्माता, शिक्षाविद, अनुसन्धानकर्ता, कुशल प्राविधिक मानव संशाधनलाई जोड्नका लागि कार्यविधि वा नियमावली तयार गर्नु पर्दछ । मौसमी साथसाथै वेमौसमी तरकारी र उन्नत प्रजातिको बिउविजन उत्पादन गरी हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्मको अर्थ व्यवस्थालाई बढी सुदृढ बनाउनु यो भिजनको लक्ष्य हुनुपर्छ । अर्गानिक खेती, फ्लोरिकल्चर, च्याउ उत्पादन, किबी,अलैंची उत्पादन, साना साना जलविद्दुत् परियोजनाको माध्यामबाट जनसहभागिता सुनिश्चित गरी जनजनलाई विकासको यात्रामा जोड्नका लागि स्थानीय सरकारको स्तरमा योजनाको कार्यान्वयन गर्ने पहल सुरू गर्नु पर्दछ ।
प्रत्येक योजनाको जानकारी हरेक घर हरेक गाउँमा हुने व्यवस्था गर्नु पर्दछ । ताकि जनतासँग सीधा सम्वाद स्थापित गर्दै निसंकोच सर्वसाधारण जनताको दु:ख पीडालाई बुझ्ने मात्र होइन उसको समस्या निवारणका लागि पूरै तागत लगाउन सकियोस् ।
सार्वजनिक पदमा रहने सबै आम सर्वसाधारणको सेवकको रूपमा दिनरात जनसेवालाई आफ्नो मिशन बनाएर निशंकोच प्रत्येक जनसमुदायको चेहरामा खुशी ल्याउनका लागि कृत संकल्पित रहने । आँखामा आशा र अध्ययनको चाहनासँगै यो राष्ट्रका युवा शिक्षामा विश्लेषणात्मक सीपसँगै ज्ञानवर्द्वक तर्कसंगत विवेचना र यथार्थभन्दा अगाडिको कल्पना क्षमताका साथ शिक्षाको नयाँ प्रतिमानको प्रतिक्षा गरिरहेका छन् ।
अत:
- सत प्रतिशत साक्षरताको लक्ष्य प्राप्त गर्ने
- गुणस्तरीय शिक्षाको व्यवस्था
- कक्षा शिक्षण र शिक्षक तालिममा सूचना प्रविधि समावेश गरी विद्यालयलाई स्मार्ट विद्यालयमा रूपान्तरण गर्ने
- गरिब र सीमान्तीकृत विद्यार्थीहरूका लागि आदर्श छात्रावास
- व्यावसायिक, प्राविधिक र औद्योगिक क्षेत्रसँग सम्बन्ध स्थापित गर्ने
- विद्यालय, क्याम्पस र विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने
(लेखक नुवाकोटका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।)