राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा



काठमाडौं पुस १० ।

राजस्व अनुसन्धान विभागले १३ जनाविरुद्ध राजस्व छली गरेको आरोपमा १९ करोड ९६ लाख रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायसमेतको मागदावी गर्दै तीन वटा मुद्दा दर्ता गराएको छ।

विभागले पुस १ गते र ५ गते विभिन्न ५ वटा कम्पनीविरुद्ध राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटन र जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा दर्ता गरेको हो।

विभागका अनुसार ललितपुर सानेपास्थित कविला सप्लायर्स सेन्टरका प्रोप्राइटर नवल किशोर चौधरीबाट २ करोड १४ लाख ३० हजार २३८ हजार, शिवम् प्याकेजिङ एन्ड सप्लायर्स प्रा.लिका प्रोप्राइटर सितादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९१९ र रौतहटको श्री गौतम सप्लायर्सका प्रोप्राइटर मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १८८ गरी १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

विभागका अनुसार उनीहरुले झुट्टा तथा नक्कली कर बिजक खरिद देखाई सोही अनुसार आयकरतर्फ खरिद खर्च लिएको र मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट लिई कानुन बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकर छली गरी राजस्व चुहावट गरेको आरोप छ।

उनीहरुविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार कारबाहीको माग गरिएको विभागले जनाएको छ। त्यस्तै बारास्थित शिवम् ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर जगदिश सहनी मलाह समेत ७ जनाबाट चार करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद माग दाबी गरी विभागले पुस १ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

उनीहरुले नक्कली भ्याट खरिद गरी राजस्व छली गरेको विभागले जनाएको छ। विभागले पोखरास्थित अनुस्का मल्टिपर्पोज कम्पनीका प्रोप्राइटर शिवलाल तिमल्सिना समेत ३ जनाबाट १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ विगो असुल उपर गरी जरिवाना र कैद माग दावी सहित पुस ५ गते जनकपुर अस्थायी इजलास वीरगन्जमा मुदा दर्ता गरेको छ।

विभागका अनुसार सो कम्पनीले राजस्व छली गर्ने नियतले गलत विवरण घोषणा गरेको पाइएकोले उनीहरुलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्