नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक जारी, गृहमन्त्री ओलीतिर
काठमाडौं पुस ९ । नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल, अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने केन्द्रीय सदस्य हितबहादुर तामाङले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक अघि उक्त समूहको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो । यो समूहको बैठक मंगलबार पनि बसेको थियो । त्यस दिनको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
यसैबीच प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली खेमाको केन्द्रीय कमिटी बैठक पनि बालुवाटारमा सुरु भएको छ । बैठकले आगामी कार्यक्रम तय गर्ने जनाइएको छ । ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाका सल्लाहकारसमेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी, कुलप्रसाद केसी सोनाम, शेरबहादुर तामाङ लगायत नेता पनि प्रचण्ड–नेपाल पक्षको बैठकमा सहभागी रहेको नेता हितबहादुर तामाङले साझा पथलाई जानकारी दिए ।
तर पूर्वमाओवादी खेमाका गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले भने प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई साथ दिएका छन् । बिहीबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा थापा सहभागी छन् । त्यस्तै मन्त्री लेखराज भट्ट समेत ओली पक्षमा छन् ।