सोमबार ४ बजे कांग्रेसको आह्वानमा सर्वदलीय बैठक
काठमाडौं पुस ६ । असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेको भन्दै असन्तुष्ट दलहरुको सर्वदलीय बैठक हुने भएको छ ।
विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष कांग्रेसले दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । उनका अनुसार बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।
संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ ।
कांग्रेसका नेताहरुले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । आइतबार बिहानको मन्त्रिपरिषद् बैठकले सदन विघटन गर्ने सिफारिस गर्नासाथ केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिदिएका थिइन् ।