कोरोनाविरुद्धको खोप सबै नेपालीलाई नि:शुल्क
काठमाडौं, पुस ४ । सरकारले कोरोना भाइरस विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।
जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनको भनाई छ ।
विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनले बताए । कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट पारेका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।