कांग्रेस नेता केसी भन्छन्, ‘कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन’
कास्की पुस १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको उनको भनाइ थियो । नेता केसीले भने, “संवैधानिक परिषद्मा छजनाको व्यवस्थासहित चारजनाको कोरम पु¥याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्यमान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।”
पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष्ट पारे । कांग्रेसका लागि १४औँ महाधिवेशन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले एक/डेढ वर्षभित्र विधिवत् अधिवेशन गर्ने गरी पुरानै महाधिवेशनबाट निर्वाचित सदस्यबाट फागुनभित्रमै महाधिवेशन सम्पन्न गर्ने बारेमा सोच्नुपर्ने आवश्यकता रहेकाले आफूले केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेको जानकारी दिए ।