युरिया मलको सम्झौता गर्न कृषि सामग्रीको टोली बंगलादेश जादै



काठमाडौं, मंसिर ३० । जीटुजी प्रक्रियामार्फत बंगलादेशबाट खरीद गर्न लागिएको ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता गर्न कृषि सामग्री कम्पनी लिमिटेडको टोली बंगलादेश जाने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले नेपालले बंगलादेशबाट जीटुजी प्रक्रियामार्फत ल्याउन थालेको मलको सहमति गर्न कृषि सामग्री लिमिटेडको टोली बंगलादेश जान लागेको जानकारी दिए । उनका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न र अन्य आवश्यक छलफलका लागि टोली बंगलादेश जाने भएको हो ।

‘हामी अहिले भिसाको प्रक्रियामा छौं, सकेसम्म मंगलवार वा बुधवार नै हाम्रा प्रतिनिधिहरू बंगालादेश जानेछन्,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नेत्र भण्डारीले भने । उनका अनुसार कृषि सामग्रीका प्रतिनिधिहरू बंगलादेश पुगेका दोस्रो दिनमा नै सम्झौताको काम सकिनेछ र तेस्रो दिन यहाँ कम्पनीले एलसी खोल्नेछ । ग्लोबल टेन्डरमार्फत छनोट भएको कम्पनीलाई कार्यादेश दिएको करीब २० दिनमा मल बोर्डरमा आइपुग्ने उनले बताए ।

बंगलादेशले यसअघि नै नेपाललाई मल दिने भनेको चटगाउँ बन्दरगाहबाट मल दिनेछ भने मल ढुवानी गर्ने जिम्मा पाएको जेन ट्रेड कम्पनीले नेपालसम्म ढुवानी गर्ने छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्