राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना छैन : शशांक कोइराला
विराटनगर मंसिर २९ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना नरहेको बताएका छन्।
उनले हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्ने बताए पनि राजा भने कुनै स्वरूपमा आउन नसक्ने जिकिर गरे। विराटनगरस्थित कोइराला निवासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले हिन्दुराष्ट्रको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने पक्षमा आफू रहेको दोहोर्याए।
अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको पनि बताएका छन्। पार्टीमा क्रियाशील सदस्यताको टुंगो लागि नसकेका कारण फागुनमा महाधिवेशन हुने सम्भावना नरहेको बताए।
आउँदो महाधिवेशनमा शेखर र आफूमध्ये पार्टी नेता तथा कार्यकर्ताको भावनाअनुसार टुङ्गो लगाएर सभापतिमा उठ्ने बताए। उनले काङ्ग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर सरकारमा जाने सम्भावना नभएको पनि बताए।