नुवाकोट कांग्रेसले मंसिर २९ गते विदुरमा सरकारविरुद्ध प्रदर्शन गर्ने



नुवाकोट मंसिर २५ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले यही मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धिविरुद्ध प्रदर्शन गर्न लागिएको हो । जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले दिएको जानकारी अनुसार मध्यान्ह १२ बजे कांग्रेस जिल्ला पार्टी कार्यालयबाट विरोध र्‍याली सुरु हुने छ ।

प्रदर्शनका लागि ‘मंसिर २९ गते नुवाकोट सदरमुकाम विदुर जाउँ !!, बृहत् विरोध र्‍याली तथा सभामा सहभागी बनौं !!’ नारा तय गरिएको छ ।

यसैबीच कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्