खोल्सामा वेवारिसे मृत शिशु फेला, शिशुकी आमा पक्राउ



पाल्पा,मंसिर २४ । जिल्लाको बगनासकाली हेल्थ पोष्ट नजिकै खोल्सामा वेवारिसे अवस्थामा शिशु फेला पारेपछि प्रहरीले मृत शिशुकी आमालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवम् एसपी सन्तोषकुमार भट्टराईले नवजात शिशुकी आमा २६ वर्षीया हुमाकुमारी दर्जीलाई मंगलबार बिहान साढे ८ बजे पक्राउ गरिएको जानकारी दिए ।

घटना सम्बन्धमा को–कसले फालेको भनी प्रहरीद्वारा खोजतलास गर्ने क्रममा दर्जीलाई पक्राउ गरेको एसपी भट्टराईले बताएका छन् ।

तानसेन नगरपालिका–१४ घर भई हाल बगनासकाली गाउँपालिका–३ माइती घरमा बस्दै आएकी दर्जीले शिशु फालेको भन्ने खुल्न आएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको भट्टराईले बताएका छन् ।

प्रहरीले मंसिर १८ गते भर्खरै जन्मिएको शिशुको शव फेला पारेको थियो । शिशुका विषयमा अनुसन्धान गर्ने क्रममा दर्जीको खुल्न आएपछि उनलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

मंसिर १७ गते बगनासकाली गाउँपालिका–१ खोरबारीस्थित बगनासकाली हेल्थ पोष्ट नजिकै खोल्सामा वेवारिसे अवस्थामा भर्खर जन्मिएको जस्तो देखिने नवजात शिशु मृत अबस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्