आज सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै, घट्ला कि बढ्ला?



काठमाण्डौ,मंसिर २३ । विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो । सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मापन गरेको थियो । अहिलेसम्म यसैलाई आधिकारिक उचाई मानिन्छ । अब भने नेपाल आफैंले मापन गरेको सगरमाथाको उचाइ कायम हुने भएको छ । नेपालले मापन गरेको उचाई आज सार्वजनिक हुँदैछ ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने निर्णय गरेको थियो । जसअनुसार गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो । जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो ।

सगरमाथाको उचाई मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अपनाइएको थियो । टोलीले तेस्रो पोलमा रहेर ५२ वटा स्याटलाइटबाट सर्भे गरेको थियो । सगरमाथाको उचाई मापनको सबै प्रक्रिया पूरा भइसकेको छ । सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । नापी बिभागले सोमबार पत्रकार स्म्मेलन गर्दै चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको जनाएको हो । विभागका महानिर्देशक प्रकाश जोशीले झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए । उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गरिने जोशीले जानकारी दिए ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन ।

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो । नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो । त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरकफरक निस्किएको थियो । नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो । यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । अब भने नेपाल आफैंले मापन गरेको सगरमाथाको उचाइ कायम हुने गरेको छ । उचाई बढेको छ वा घटेको छ त्यो भने आज नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्