नेपालमा पहिलो चरण २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने
काठमाडौं, मंसिर २० । नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने भएको छ। सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको हो । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको बताइएको छ ।
त्यस्का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्न लागेको छ। जस्का लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।
उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। उनले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । “खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन”, उनले भने, “खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।”