नुवाकोटको प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा दुई दिने मेला शुक्रबारदेखि



नुवाकोट, मंसिर १९ गते । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा शुक्रबारदेखि दुई दिने मेला सुरु हुँदै छ ।

घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गर्दछ । विगतका वर्षमा दुई दिनसम्म व्यापक रुपमा जात्रा चल्ने गरे पनि यस वर्ष कोरोना भाइरस महामारीका कारण सामान्य रुपमा पूजाआजा लगायत कार्यक्रम रहेको मन्दिरका मूल पूजारी लालबहादुर तामाङले जानकारी दिए । उनले गाउँका धामी झाँक्री नाच, मादी (बत्ती) बाल्ने, पूजाआजा लगायत नियमित कार्यक्रम नरोकिने बताए ।

मेलाका लागि मन्दिर परिसर क्षेत्रम सरसफाई गरिएको छ भने एक अस्थायी पसल पनि राख्न थालिएको छ । यस वर्ष शुक्रबार र शनिबार चल्ने मेलामा स्थानीय, पञ्चकन्या गाउँपालिकाका र अन्य शिवपुरी, दुप्चेश्वर, लिखुसहित काठमाडौंबाट समेत दर्शनार्थी भेला हुने गर्दछन् । सोही मन्दिरको नामबाट गाउँपालिकाको नामसमेत राखिएको हो ।

पञ्‍चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्या थानमा स्थानीयले बलि दिने चलन छ । रोग हरण हुने र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा, राँगा, लगायतको बलि चढाउने चलन पनि रहँदै आएको छ ।
गत वर्ष कात्तिक ३० गते साँझ ६ बजे ‘पाँचकन्या मेला २०७६ तथा बृहत् साँस्कृतिक साँझ ” कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्