काठमाडौं प्रशासनको आग्रह, ‘सभा, जुलुस र प्रदर्शन नगर्नू’
काठमाडौं मंसिर १६ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ ।
भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।