आयकर फागुनसम्म बुझाउन करदातालाई सरकारको ताकेता



काठमाडौं, मसिर ११ । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा प्यान नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्