अफगानिस्तानमा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक
एजेन्सी मंसिर ९ ।
अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५ देखि २०१९ सम्म अफगानिस्तानको गृहयुद्धमा २६ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको उल्लेख छ । राष्ट्रसंघको मुख्यालयमा भएको एक कार्यक्रममा सहभागी राष्ट्रहरुले अफगान युद्धका कारण प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
अफगानिस्तानमा शान्ति वार्ता र अमेरिकी सेनाको घर फिर्ता हुनेबारेका गतिविधिहरु अलमलमा परिरहेका बेला हिंसाका घटनाहरु अझै बढीरहेका छन् । सेभ द चिल्ड्रेनका अनुसार जारी युद्धका कारण बालबालिकाहरुका लागि विश्वका असुरक्षित ११ राष्ट्रमध्ये अफगानिस्तान पनि एक रहेको छ ।
हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार युद्धका कारण सबैभन्दा बढी ज्यान गुमाउने बालबालिका अफगानिस्तानमै रहेको बताइएको छ । तालिवान र अन्य विद्रोहीविरुद्ध अमेरिकी सेनाले गरेको कारवाहीका क्रममा ती बालबालिकाहरु मारिएका हुन् । कारवाहीका क्रममा सेनाले विद्यालयहरुमा आक्रमण गर्दा बालबालिकाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।