आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने
काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो ।
शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गरेसंगै आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।
२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द अवस्थामा रहेको थियो। २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने तयारी गरिएतापनि कोरोनाका कारण समयावधि लम्बिएको थियो ।