पोखरा महानगरकी उपमेयर गुरुङलाई कोरोना संक्रमण
कास्की मंसिर ४ । पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।
उपमेयर गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएकी हुन् । हाल होम आइसोलेसनमा रहेकी गुरुङले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘सबै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोविड १९ बाट म पनि अछुतो रहन सकिन । त्यसैले यतिखेर म आफ्नै घरमा आइसोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेछु, धन्यवाद ।”