कोरोना बढ्दै गएपछि युरोपमा कडाइ
एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् ।
युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् । अष्ट्रियाले पनि यही मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ ।
डिसेम्बरको अन्तिम साता क्रिष्टमस पर्वका लागि केही खुकुलो गराउन सकिन्छ कि भनेर युरोपेली देशहरु अहिले कडा लकडाउनमा रहेका छन् ।
नयाँ लकडाउन घोषणा गर्दै अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले घर परिवारबाहिरका कसैसँग पनि नभेट्न आफ्ना नागरिकलाई अपिल गर्नुभएको छ ।
अष्ट्रियामा गत शुक्रवार अहलेसम्मकै उच्च दैनिक संक्रमितको संख्या ९ हजार ५ सय ८६ पुगेको थियो । अष्ट्रियामा हालसम्म १ सय ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण भईसकेको छ । संक्रमणकै कारण १६ सय ६१ जनाले ज्यान गुमाएका छन् ।