श्रमजीवी पत्रकारहरूको पक्षमा पत्रकार महासंघको आन्दोलन



काठमाडौं कात्तिक २६ ।

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको पक्षमा ठूला सञ्चारगृहमा धर्ना दिएको छ ।

कोरोना महामारीका बीचमा पत्रकारहरूलाई विभिन्न बहानामा तलब भत्ता उपलब्ध नगराएको भन्दै महासंघले आन्दोलनस्वरूप धर्ना दिएको हो । कोरोना महामारीको बहानामा निस्कासित पत्रकारहरुको स–सम्मान पुर्नबहाली हुनुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने, नियमित पारिश्रमिक उपलब्ध गराउनुपर्ने र घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटमसँगै धर्नाको कार्यक्रम गरिएको हो ।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालककसँग पटक(पटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि पत्रकारका माग पुरा नगरेको भन्दै महासंघ आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले माग पुरा नभएसम्म आन्दोलन नरोकिनेसमेत बताए ।
नेपाल प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रमा महासंघका उपाध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले पत्रकारलाई अन्याय भएको भन्दै तत्काल समस्याको समाधान गर्न सञ्चालकलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघले नेतृत्व गरेको आन्दोलनमा प्रेस संगठन नेपाल, नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, प्रेस नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, फोटो पत्रकार क्लब, पत्रकार विद्यार्थी संगठन, नेपाल लगायत १३ वटा प्रेस सम्बद्ध संघरसंगठनले ऐक्यद्धता जनाएका छन् ।

महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह(संयोजक जन्मदेव जैसीले मिडिया हाउसले माग सम्बोधन नगरे मिडिया मालिकहरुका घर घेराउ गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सत्याग्रह थाल्ने महासंघले घोषणा गरेअनुरुप सशक्त रुपमा आन्दोलन अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्