विभिन्न तीन परियोजनाका लागि ३८अर्ब लगानी स्वीकृत
काठमाडौं कात्तिक २६ ।
लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले तीनवटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको ७७।५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दूधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताए ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावर हाउसदेखि ड्यामसाइड सम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको पनि भट्टले बताए।
यस्तै बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ । लगानीकर्तालाई एकलबिन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्नेगरी स्वचालित बनाउने र नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने सम्बन्धमा समेत छलफल भएको भट्टले बताए।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगसँगै विद्युत खपतको आयोजना तयार पार्न समेत बोर्डलाई निर्देशन दिएको पनि भट्टले बताए। यसबाहेक बैठकमा बोर्डद्वारा प्रवर्द्धन र सहजिकरण भएका परियोनाहरुको कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिको सम्बन्धमा समेत छलफल भएको थियो ।