प्रधानमन्त्री ओली चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने



काठमाडौं कात्तिक २५ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभाको चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने भएका छन्।

अरुण तेस्रो जलविद्युत आयोजना, किमाथांका जोड्ने उत्तर–दक्षिण कोशी करिडोर लगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथांका जाने तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले मकालु गाउँपालिकाको नुमस्थित अरुण तेस्रो परियोजना निर्माण स्थलको भ्रमण गरी आयोजनाको प्रगतिका विषयमा जानकारी लिने कार्यक्रम छ।

आयोजनाका एक अधिकारीका अनुसार, प्रधानमन्त्रीले आयोजनास्थलको भ्रमण गर्ने तय भइसकेपछि परियोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमन आयोजनास्थलमा पुगिसकेका छन्। प्रधानमन्त्री ओलीलाई आयोजनाको निर्माण प्रगतिका विषयमा विस्तृत जानकारी गराइने छ। ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई भारत सरकारको स्वामित्व रहेको सतलज पावरले निर्माण गरिरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला २०७५ वैशाखमा काठमाडौंको होटल द्धारिकाजबाट दुई प्रधानमन्त्रीले रिमोट थिचेर आयोजनाको संयुक्त शिलान्यास गरेका थिए।एक महीनापछि प्रधानमन्त्री ओलीबाटै आयोजनाको बाँधको औपचारिक शिलान्यास गर्ने तयारी गरिएपछि छोटो सूचना दिएर प्रधानमन्त्रीले भोलि आयोजनाको अवलोकन गर्न लागेको आयोजनासम्वद्ध एक अधिकारीले जानकारी दिए।

सीमाविवादपछि पछिल्लो समयमा नेपाल–भारत सम्बन्ध चिसिएका बेला प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माणाधीन परियोजनाको अवलोकन गर्न लाग्नुलाई अर्थपूर्ण मानिएको छ।

नेपाल भारत सम्बन्ध सुधारको प्रयत्नस्वरूप भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला केही साताभित्रै नेपाल भ्रमणमा आउँदैछन्।

उनको भ्रमणसँगै विगत एक वर्षदेखि कायम दुई देशबीचको औपचारिक संवादहीनता तोडिनेछ। २०७१ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको दौरान नेपाल सरकारको लगानी बोर्ड र भारतको सतलज पावरबीच अरुण तेस्रो परियोजना विकास सम्झौता पीडीए भएको थियो।

यो आयोजनामा रू १ खर्ब ४ अर्बभन्दा बढी लगानी हुँदैछ। आयोजनाले नेपाल सरकारलाई २१.९ प्रतिशत निस्शुल्क विद्युत उपलब्ध गराउनेछ। यो आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। अहिलेसम्म करीब एक तिहाई काम सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्