दसैं टीका र भड्किएको आत्मा [विचार]



राजु सुब्बा

भड्किएको आत्मा जतै पनि बस्छ । त्यस्तै हो दसैं टीकाको सवालमा आदिवासी जनजाति आत्मा । टीका लगाउनु र आशीर्वाद लिनु नराम्रो हुँदै होइन सिर्फ दसैंको दिन चाहिँ होइन अन्य अवसरमा लगाउने भए लगाउनुहोस् अर्थात् उपयुक्त कुनै एक अवसरको पनि व्यवस्था गरौं भन्ने आग्रह यो लेखको रहेको छ ।

दसैंको अप्रत्येक्ष सामाजिक प्रभावलाई पर्गेल्दा दसैं टीका त जनजातिलाई हिन्दुले दास मान्ने र जनजातिले दास स्वीकार्ने अनुष्ठान हो भन्न सकिन्छ । म हिन्दुको दास, कमरा हुँ र मेरो भावी सन्ततीलाई पनि दास बनाउन राजी छु भन्ने प्रतिज्ञा हो । यसर्थ ख्याल रहोस् दसैं टीकामा अक्षेता मात्र आएको हुँदैन ।

आशीर्वाद लिन, टीका नै लिन परेमा आआफ्नो चाडमा लिन सकिन्छ । किरात उधौली, चासोक तङ्नाम, ल्होसार, सिसेक्पा तङ्नाम, माघे संक्रान्तिमा पनि टीका लगाउने सिस्टम बसाउन सकिन्छ त्यही नगरिँदा ठाउँ/विकल्प नपाएको कारण भड्किएको केही जनजाति आत्माले पुनः दसैंमा टीका लगाउन सुरु गरेको देखिन्छ ।

जति पनि संस्कारहरु छन् सबै मान्छेले बनाएका र विकास गरेका हुन् तर हामी मौलिकताको कुरा ल्याएर अड्किन्छौं र अड्काउँछौं । अब पनि हामीले दसैं टीकाको विकल्प चासोक टीका आदिआदि दिन नसके सबै सबैले दसैंमा टीका लगाउन सुरु गर्ने सम्भावना देखिन्छ । भड्किएको आत्मा दसैंमै बस्न सक्दछ । तपाईं प्रतिज्ञा गर्नुहोला म कट्टर हुँ र म बाट कहिल्यै दसैं मान्ने काम हुन सक्दैन तर तपाईंलाई हरेक क्षेत्र छिमेक, नातागोता, म्युजिक, सरकारी सुविधा आदिबाट प्रत्येक वर्ष आक्रमण भइरहेको हुन्छ तसर्थ कतिन्जेल प्रतिरक्षात्मक हुने ? बरु चासोक तङनामको अघिल्लो दिन युमाथेवा दिन भनौं बाजेबोजु र बुबाआमा तथा अग्रजको हातबाट टीकाजस्तै ग्रहण गरौं, उपहार आदानप्रदान गरौं ।

आखिर टीका नै लगाउने कुरा रहेछ दसैंमा चाहिँ किन नलगाउने भन्ने प्रश्न पुनः आउन सक्दछ । दसैं हिन्दु विरासत गैर हिन्दुमा लादेको (Colonise) सवाल हो । दसैं मान्नु वर्ण ब्यवस्थालाई स्वीकार्नु पनि हो । आर्य उच्च हो जनजाति तल्लो जाति स्वीकार्नु हो । दसैंको वैदिक अनुष्ठानले जनजातिको विरासत उठान गर्दैन, यी लगायत सामाजिक मनोविज्ञान अनेक छन् त्यसैले आदिवासीले दसैं मनाउनु र टीका लगाउनु सही होइन । मानौं, सबै आर्य, खसले बुद्धधर्म मान्ने भएको भए गुम्बा र संस्कारहरुमा को अगाडि हुने थिए ? अवश्य बुद्धिष्ट शेर्पा, तामाङ लगायत हुने थिए ।
त्यसो हो, भने आदिवासीले दसैं मनाउँदा आर्यहरुलाई अगाडि लगाएका हुन् कि होइनन् ? हिन्दु विशिष्ठता लादेर कोलनाईज गरिएको हो कि होइन ? पक्कै हो । शासन हिन्दुले मात्र गर्न सक्छन्, उनीहरुले दिएको सल्लाह मात्र सही हुन्छ, हामी शासितमात्र हुन उपयुक्त छौं, उनीहरुले जे गर्छन् सही गर्छन् भन्ने प्रकारको मनोविज्ञान बन्ने भएकोले दसैंले आदिवासीमा दास मनोवृत्तिलाई नवीकरण गर्ने गरेको छ ।

दसैंको अर्को आयाम पनि छ । दसैंमा आदिवासीले टीका लगाउनुको अर्थ म हिन्दु धर्मालम्बी हुँ भनेर देखाउन र अनुभूत गर्न टीका लागाएका होइनन् । बल्लबल्ल वर्ष दिनमा आएको चाडमा अग्रजहरुबाट आशीर्वाद लिउ, सुसम्बन्धलाई नवीकरण गरौं, सम्बन्ध बिग्रिएको भए सुधारौं, कम्तीमा वर्ष दिनमा भेटघाट गरौं भन्ने हो । दसैं जबर्जस्त लादिएको १५३ वर्ष (३०x५ = १५०, कम्तीमा ५ पुस्ता) भएकोले अहिले हामीमा चाहिँ बाउबाजेले मानि ल्याएकोले मनाऔं भन्ने दबाब पनि हुने गर्दछ । कसैको अर्को वर्षसम्म बाजेबोजु, बुबाआमा रहन पनि सक्नुहुन्छ नरहन पनि सक्नुहुन्छ भन्ने चिन्ताले अग्रजको करमा टीका लगाउने पनि छौं । बुबा आमाको करले भन्दा आफैंले चाहिँ नानीहरुलाई टीका लगाई दिनु जघन्य अपराध हो । सानोमा टीका लगाई दिएको प्रभावले गर्दा वर्षौवर्ष छोडेको टीका के कसो भनी धर्मराउने गर्छौं, भड्किएको आत्माझैं बनेका छौं भने फेरि हामी हाम्रा नानीहरुलाई टीका लगाई दिएर त्यही गल्ती दोहोर्‍याउने काम चाहिँ अति घातक हो । आफ्नै धर्म र इतिहासको विरासतमा रमाउन पाउने नानीको अधिकार तोडमोड गरिदिनु अपराध हो । यो गल्ती कसैले नगरौं ।

दोस्रो कुराः पारिवारिक बाध्यता आदिआदिको कारण टीका लगाउन बाध्य भएकाहरुलाई होच्याउने, जिस्काउने र घिनाउने प्रवृत्ति प्रतिउत्पादक बनेको छ । जुन कुरालाई ईख लिएर झनै टीका लगाउने र दसैं मनाउन सुरु गरेको पनि देखिन्छ । हिन्दुधर्म, किश्चियन धर्म वा कुनै पनि धर्म अगाल्नु नै त छुट छ भने दसैं मनाउन र टीका लगाउन निश्चय नै छुट हुन्छ । त्यसैले गालीगलौज नगरौं । आदिवासी अर्थात् गैर हिन्दु भएर जसले टीका लगाउँछ उसैले सोच्ने कुरा हो । मेरो जाति, समुदाय र भावि सन्ततिको लागि मैले के के गर्नुपर्छ भन्ने कुरा उसको चेतना स्तरमा निर्भर हुने कुरा हो । ती कुरा उनै स्वयंले अनुभूत गर्ने कुरा हुन अन्यथा तपाईंको सही सल्लाहलाई उल्टो अर्थ लागाउन सक्दछ त्यसैले त्यस्तासँग रियाक्टिव होइन ईग्नोरएक्टीव बनौं ।

नेपालमा २०५६ को बहुदलको पुनर्स्थापनासँगै गोरेबहादुर खपाङ्गी, सुरेश आले, लोकेन्द्र तिगेला लगायतको सक्रियताबाट सुरु भएको सांस्कृतिक पुनर्जागरणको महत्व ठूलो रहेको छ । संस्कारको महत्व कति भन्ने सवालमा एउटा उद्धारण हेरौं । जजमानी संस्कार गर्नेहरु मात्र सिंहदरबारमा पुगेको यो बेला त्यहाको सम्पत्ति आफैंले मात्र सोहर्ने गरेको अवस्था छ । दिनु पर्छ र देश बनाउनु पर्छ भन्ने पनि संस्कार जजमानी संस्कारमा भईदिएको भए सिंहदरबारमा यतिविघ्न भ्रष्टाचार हुने थिएन सायद, देशको चरम भ्रष्टाचार रोक्न अब जजमानी संस्कारमै सुधार गर्नुपर्ने देखिन्छ । यसर्थ संस्कारको प्रभाव कति हुँदोरहेछ भन्ने बुझ्न सकिन्छ । संस्कारले दैनिक जीवनमा कति प्रभाव पार्ने रहेछ अनुभूत गर्न सकिन्छ । संस्कारको कुरा रमाइलो, मज्जाको सवाल र तत्कालको निम्ति मात्र होइन रहेछ भन्ने पुष्टि हुन्छ त्यसैले दसैं र दसैं टीकाको सवालमा हेलचेक्र्याइँ नगरौं ।

दसैं हिन्दुको हो हिन्दुहरुले यसलाई भव्य मनाउन । हिन्दुहरुलाई शुभकामना दिन कन्जुस्याइँ नगरौं तर किरात, मुस्लिम, किश्चियन, बौद्धिष्टले दसैं मान्दैन त्यसैले नेपालीहरुको महान् चाड भनी लेखेर गल्ती नगरौं । हिन्दु चाड, नेपाली हिन्दुहरुको महान् चाड वा बडा दसैंमात्र लेखेर शुभकामना दिन सकिन्छ । तर केही जनजाति आदिवासी भुत्ते नेताहरु आफैं नेपालीहरुको महान् चाड लेखेर शुभकामना शेयर गरेको देख्दा उनीहरुको विवेकप्रति दया जाग्नु स्वाभाविक हो । त्यसैले सधै सबैले सही शब्द चयन गरौं गलत अर्थ र प्रभाव दिने कुराहरुबाट सचेत होऔं ।

अहिलेसम्म दसैं बहिष्कारको अभियानले के कति प्रभाव पार्यो, कति प्रभावकारी भयो भन्ने मूल्याङ्कन गर्न सकिन्छ । यस अभियानमा लागेका अगुवाहरुको नाम सर्वत्र चर्चा हुनुको अर्थ हो अभियान सही थियो । त्यसले सामाजिक परिवर्तनमा उल्लेख्य प्रभाव बनाएको देखिन्छ । आदिवासी जनजातिहरु कमजोर हुनुमा आर्थिक रुपबाट कमजोर हुनु पनि एक हो भने धेरै चाड पर्व मनाउनु आर्थिक भार हुँदैहो । दसैं बहिष्कार तथा परित्यागले सुधार भएको देखिन्छ । मनोविज्ञानको जसरी पूरै कोलनाइज भएका थिए त्यसमा धेरै परिवर्तन र सुधार भएको छ त्यो मुख्य उपलब्धि हो । अझ दसैंलाई प्रभावकारी ढंगबाट परित्याग गर्ने अभियानलाई चरणबद्ध अभियान चलाउन सकिन्छ । जस्तैः पहिलो चरणः हिजो सानैदेखि टीका लगाएकाहरुले निरन्तर टीका लगाउने तर आफ्नो बालबच्चाहरुलाई टीका नलगाई दिने अर्थात् नानीहरुमा दसैंको प्रभाव नपरोस् । दोस्रो चरणः नातागोता आफन्तलाई दसैंमा घर नआउनु भन्ने र आफू पनि नजाने तर घामजुन झै बृद्धा भएकाले आशीर्वाद दिन चाहेमा लगाउने तर बालबच्चालाई नलगाईदिने र दसैंको प्रभाव नदिने । तेस्रो चरणः आआफ्नो चाड लोसार, किरात उधौली, माघे संक्रान्ति आदिमा टीका लगाउने र आशीर्वाद दिनेलिने । चौथो चरणः जो टीका सहजै परित्याग गर्न सक्ने र आफ्नै संस्कारमा रमाउन सक्नेले त्यतिमै रम्ने । र, प्रत्येक वर्ष दसैं टीकाको दिन सम्भवत: नेपालकै पहिलो सांस्कृतिक सहिदद्वय रिदामा आठपहरिया र राम्लिहाङ आठपहरियाको सम्झना तथा सम्मानमा कार्यक्रम गर्ने । उनीहरुलाई दसैं नमनाएको कारण सन् १८६७ मा धनकुटामा झुण्डाएर मृत्युदण्ड दिइएको थियो ।

किन दसैं र दसैं टीकाचाहिँ बहिष्कार र परित्याग ? किनकि आदिवासी जनजातिहरुलाई धार्मिक, सांस्कृतिक, आर्थिक, नीतिगत अतिक्रमण गरिएको कारण त्यसबाट मुक्ति हुनको निम्ति दसैं र दसैं टीका परित्याग गर्न आवश्यक भएको हो । दसैं नमनाउनु भनेको आफू माथिको सांस्कृतिक तथा धार्मिक शोषण कम गर्न वा हटाउनको निमित्त हो । किश्चियन, बुद्धिष्ट, मुस्लिम वा जुनसुकै धर्म मान्ने आदिवासी जनजातिले पनि आफ्नै मौलिक धर्म र संस्कृति अवलम्बन गरोस भन्ने शुभेच्छा हो तर यी धर्महरुबाट अहिलेसम्म शोषण नभएको अवस्था भएकोले चर्चा नगरिएको हो ।

अन्तमा, हाम्रो आफ्नो धर्म संस्कारमा टीका आदिको कुरा नै छैन भने किन यसमा टाउको दुखाउने भन्ने सवाल पनि आउन सक्दछ । तर माथि नै उल्लेख गरे झै ५ पुस्ता भयो हामीलाई कोलनाईज गरेको । हाम्रो नसा नसामा दसैं र टीका छ । त्यसलाई सिधै त्याग्न सकिन्न र नसकिने रहेछ त्यसैले स्वाद केहीकेही मिल्दोजुल्दो तर फरक भाँडो र आफ्नै चुलामा बनाऔं तब त्यो स्वाद पनि भेटिने अर्काको अबलम्बन गरेको प्रथा पनि मेटिने । अर्थात्, दसैं र दसैंको टीका पूरै छोडाउने हो भने विकल्प दिनै पर्छ नत्र अड्काएर राख्ने, निकास नदिने गल्तीले हामीलाई कमजोर बनाउँछ । दसैंको टीका हिन्दु भनिनको खातिर जनजाति आदिवासीले लगाएका होइनन्, अग्रजबाट आशीर्वाद लिन, सम्बन्ध नवीकरण गर्न लगायतको कारणहरु भएकाले टीकाको चलन हाम्रो मुन्धुममा नभए पनि अब विकास गर्नु पर्दछ तबमात्र भड्किएको आत्मालाई जहाँसुकै बस्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्