प्रधानमन्त्रीको एक कलले मल पैँचो आएन, जीटुजीमार्फत खरिद गर्न प्रस्ताव
काठमाडौं, कार्तिक १८। पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।
धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।
कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो सातामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको कुरामा पैँचोमा मल उपलब्ध गराउने मौखिक सहमति भएको थियो ।
मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।